Logo

लीलाधरको निःशुल्क उपचार हुने



राजविराज, ३० असार । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको पहलमा सप्तरीको वोदेवर्साइन नगरपालिका–६ बस्ने लीलाधर दास (तत्मा) लाई निःशुल्क उपचार गरिने भएको छ ।

डिहीबारथान (मन्दिर) छोएको भन्दै गत असार १३ गते साँझ उनलाई स्थानीयवासी राजकुमार यादव, कासिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साह लगायतका व्यक्तिले आक्रमण गरेको पीडितको उजुरीमा उल्लेख छ ।

कुटपिटबाट ४२ वर्षीय लीलाधरको हड्डीमा समस्या देखिएकाले तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

सो अस्पतालमा रु एकलाख खर्च लाग्ने बताइएपछि आर्थिक अभावमा उनी निराश भएको अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको क्षेत्रीय कार्यालयका प्रमुख दीपेन्द्र सिंहले बताउनुभयो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालसँग उपचारको प्रबन्ध मिलाउने विषयमा छलफलपछि लीलाधरकोे आवश्यक कागजातसहितको सिफारिसका आधारमा प्रतिष्ठानबाट उनको निःशुल्क उपचार गर्ने तयारी भइरहेको प्रमुख सिंहले जानकारी दिनुभयो ।

हरुवा–चरुवा बालबालिकालाई छात्रवृत्ति

यसैबीच, मानव अधिकार तथा ग्रामीण युवा परिवर्तन (हुर्क)नेपाल तथा तपेश्वरी समाज कल्याण सङ्घले सप्तरीको ४५२ जना हरुवा–चरुवा बालबालिकालाई छात्रवृत्ति वितरण गरेको छ ।

जिल्लाको कोइलाडी बर्साइन, कोइलाडी, ठेलिया र धरमपुर गाविसका हरुवाचरुवा बालबालिकालाई द फ्रिडम फण्डको सहयोगमा एक सेट शर्ट, पैन्ट, सल, सुरुवाल, १२ थान कपी, १२ पिस पेन्सिल, ६ थान इरेजर र तीनथान कटर वितरण गरिएको आयोजक संस्थाका सञ्चालक समिति अध्यक्ष पार्थो सरकारले बताउनुभयो ।

कार्यक्रममा हरुवाचरुवा कार्यक्रम संयोजक प्रदीपकुमार जोशी, सुपरभाइजर पङ्कजकुमार सरकार, लेखापाल मेनका रश्मी, सहजकर्ताहरु ब्रह्मानन्द रजकलगायत स्थानीय हरुवा–चरुवा समूहका अभिभावकहरुको उपस्थिति रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्