Logo

चलचित्र पाईरेसि रोक्नुपर्नेमा सरोकारवालाहरुको जोड



चलचित्रलाई पाईरेसीबाट जोगाउन आँफै सचेत हुनुपर्छ :अध्यक्ष अधिकारी
प्रेम गीत–२ हेर्न दर्शक आईरिने पत्रकार धमलाको विश्वास
काठमाडौं, ३० असार । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्र पाईरेसि हुनबाट जोगिनको लागि उत्पादक, वितरक, निर्माता र निर्देशक सबै सचेत हुनेपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अध्यक्ष अधिकारीले कलाकारले सुरुमा आफ्नो घर बलियो बनाउनको लागि सबै प्रकारका सचेतना अपनाउनुपर्ने बताएका हुन् ।

क्लबका सभापति ऋषि धमालाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा संघका अध्यक्ष अधिकारीले चलचित्रको विकास, प्रबद्र्धन र पाईरेसीबाट जोगाउनको निमित्त आफुले गुगलसँगको सहकार्यलाई मजबुत बनाउने र भारतमा नेपाली चलचित्र प्रदर्शनको लागि एक हप्तामा सेन्सर लिन सकिने वातावरण निर्माण गरिसकिएको जनाए ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले चलचित्रहरु पाइरेसीको शिकार बनिरहेको उल्लेख गर्दै यस्तो जघन्य अपराधलाई रोक्नको लागि सम्बन्धित सबै पक्ष सचेत र सजग हुनुपर्नेमा जोड दिए । धमलाले पाईरेसीको बारे देशव्यापी रुपमा सचेतना कार्यक्रम लैजानुपर्ने समेत बताए ।

उनले प्रेम गीत-२ चलचित्र हेर्न आम दर्शकहरु आँतुर रहेको समेत बताए । उनले भने,‘ढुक्क हुनुहोस्, यो चलचित्रले नेपाली दर्शकहरुको मन जित्न सफल हुनेछ, तपाईहरु नआँत्तिनुहोस, कसैले पाईरेसी गर्न सक्दैन्।’

उनले पछिल्लो समय कलाकारहरु हठात्मा राजनीतिमा प्रवेश गर्ने र एकपछि अर्को असफलताको भारी बोक्ने काम गरिरहेको गुनासो पोख्दै भने,‘राजनीतिमा गैसकेपछि नेतृत्व गर्न सक्छु भनेर जानुपर्यो, मन्त्री बन्न सक्छु भनेर जानुपर्यो, खासगरी कलाकारहरुले सञ्चारमन्त्री वा संस्कृतिमन्त्री बन्नुपर्छ।’

त्यस्तै कार्यक्रममा कलाकर्मी दिनेश डिसीले प्रेम गीत गत वर्ष पाईरेसि भएको र त्यसबाट निर्माण पक्षले ठुलो आर्थिक मुल्य चुकाउनु परेको भन्दै फेरिपनि त्यस्तो स्थिति नदोहोरिनको लागि सबैले प्रतिलिपि र कानुनको पालना गर्नुपर्ने बताए ।

चलचित्रका निर्देशक रामशरण पाठकले पनि पाईरेसीबारे चिन्ता व्यक्त गरे । उनले उक्त चलचित्र निर्माणको लागि झण्डै डेढ करोड लागत लागेको जनाए । उनले भने,‘यति धेरै ठूलो लगानीमा निर्माण भएका चलचित्रहरुलाई पाईरेसी हुनबाट हामी सबैले जोगाउनुपर्छ।’

प्रेम गीत र प्रेम गीत–२ का नायक प्रदिप खड्काले चलचित्र प्रेम गीत २ का केही तस्बिर र केही दृश्य सामाजिक सञ्जालमा अपलोड भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनले भने,‘हामी यत्रो मेहनत गर्छाैँ, यति धेरै लगानी गरिएको हुन्छ, पाईरेसि गरिदिन्छन्, त्यसमा सरकारी प्रशासनको पनि त्यति शसक्त भूमिका रहेको पाईदैन, केही शक्तिमा भएका कलाकारको मात्रै न्यायको लागि प्रशासन अघि बढेको छ, हामी चाहन्छौ गत वर्षजस्तै हाम्रो चलचित्रले अकालमै मर्न नपरोस् हाम्रो चाहना यही हो ।

चलचित्रकी नायिका अश्लेशा ठकुरीले समाचार लेख्दा कसैको चरित्र हत्या गर्ने मनासायले लेख्न नहुने बताएकी छिन् । उनले भनिन्, ‘मेरो बारेमा कुनै दिन गलत नियतले समाचार आएको थियो, मेरा आफ्न्त सम्मानजनक व्यक्तित्वलाई त्यो कुराले पोल्छ, हाम्रो मुलुकमा समाचारको नाममा चरित्र हत्या गर्ने खालको काम भैरहेको छ, यो अत्यन्तै गलत हो।’

उक्त चलचित्र आउँदो साउन १३ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ।

 

 



प्रतिक्रिया दिनुहोस्