Logo

‘समृद्ध मुलुक निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण’ : पूर्वमन्त्री खड्का



काठमाडौँ, ३१ असार । समृद्ध मुलुक निर्माणका लागि युवालाई जागरुक गराउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

युवामैत्री अभियानले आज यहाँ आयोजना गरेको ‘समृृद्ध नेपाल निर्माणका लागि नेपाली काँग्रेसमा युवाहरुको परिचालन कसरी गर्न सकिन्छ’ भन्नेबारेको विचार गोष्ठीका वक्ताहरुले मुलुकको समृद्धिका लागि युवालाई सही ठाउँमा प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

काँग्रेसका सांसद एवम् पूर्वराज्यमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बतानुभयो । उहाँले भन्नुभयो – “देशमा भएको अथाह सम्पदालाई सही स्थानमा प्रयोग गर्नका लागि युवालाई परिचालन गर्नु आवश्यक छ ।”

काँग्रेसका सांसद रञ्जित कर्णले युवा गतिशील भएसँगै पार्टी र देश बलियो हुने भन्दै युवालाई गतिशील बनाउन युवा अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल विद्यार्थी सङ्घ उपाध्यक्ष उर्मिला थपलियाले काँग्रेसका नेताहरुले भ्रातृ संस्थालाई आफू अनुकूल चलाउन खोज्दा राजनीतिप्रति युवाको आकर्षण कम हुँदै गएको बताउनुभयो ।

नेपाल प्रेस युनियनका पूर्व महासचिव शिव लम्सालले काँग्रेस विधि र विधानमा चल्न नसक्दा पार्टी कमजोर हुँदै गएको बताउनुभयो ।

नेविसङ्घका नेताहरु क्षितिज भण्डारी, बिजुला बर्मा, दीपक भट्टराई, मोती भण्डारी, नीलकण्ठ रिजाल, विनिता अधिकारीलगायतले काँग्रेस भ्रातृ संस्थाको जगमा उभिएको पार्टी भएको भन्दै भ्रातृ संस्था र युवालाई अगाडि नबढाएसम्म पार्टीले सफलता हासिल गर्न नसक्नेमा जोड दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्