काठमाडौँ, १ साउन । सांसद मीरा ध्वजुले बूढानीलकण्ठ र टोखा नगरपालिकामा सौर्य बत्ती वितरण गर्नुभएको छ ।
बूढानीलकण्ठ–५ मा छ र टोखा – ६ मा १० सौर्य बत्ती वितरण गरिएको उहाँले जानकारी गराउनुभयो । उहाँले ती वडामा सडक बत्ती नभएकाले सौर्य बत्ती वितरण गरिएको बताउनुभयो । सांसद विकास कोषबाट प्राप्त रकमबाट रु छ लाख बराबरको सौर्य बत्ती वितरण गरिएको हो ।
यसैगरी सांसद ध्वजुले ती नगरपालिकाका ३५ विद्यालयका शिक्षकलाई मधुमेह र उच्चरक्तचापबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुभएको छ । समाजमा मधुमेह र उच्चरक्तचापका बिरामी बढेकाले अभिभावकलाई जनचेतना जगाउनका लागि शिक्षकलाई सचेतना तालिम दिइएको उहाँले जानकारी गराउनुभयो ।
यसैबीच बुढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईले कपन, मिलनचोकस्थित बालउद्धार माविलाई १५ थान कम्प्युटर नगरपालिकाको सहयोगमा वितरण गर्नुभयो । रासस