Logo

पूर्वराजा ज्ञानेन्द्रको मुटुमा समस्या देखिएपछि एनजीओप्लाष्टी गरियो, केही दिन आईसियुमै राखिने



काठमाडौं, ४ साउन । पूर्व राजा ज्ञानेन्द्र शाह अस्वस्थ भएका छन् । मुटुमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा शाहलाई भर्ना गरिएको छ । शाहलाई आज विहान भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार शाहको मुटुको धमनीमा जाली हालिएको छ । शाहको एनजीओप्लाष्टी गरिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्ट नेतृत्वको टोलीले धमनीमा जाली हालेको हो । डा. भट्टको नेतृत्वमा डा. शेखर राजभण्डारी, डा. शिवजी सिलवाल र डा. नग्मा श्रेष्ठ थिए ।

शाहलाई अहिले आईसियुमा राखिएको छ । उनलाई आरामको लागि अझै दुई दिन आईसियुमा नै राखिनेछ । नियमित चेक जाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि अस्पताल लगिएको निर्मल निवास स्रोतले जनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्