Logo

गत आर्थिक वर्षको ११ महिना जेठसम्ममा वाणिज्य बैंकहरुको नाफा ३३ अर्ब ७८ करोड



साउन ४, काठमाण्डौ । गत आर्थिक वर्षको ११ महिना जेठसम्ममा वाणिज्य बैंकहरुको नाफा ३३ अर्ब ७८ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा प्रस्तुत छ । तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुको चुक्ता पुँजी १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । तोकिएको ८ अर्ब बराबरको चुक्ता पुँजी पुग्न अझै ५८ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

आर्थिक वर्ष २०७३–७४ को जेठसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । बैंकले ३ अर्ब ४५ करोड नाफा कमाएको हो । त्यसपछि, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि बिकास बैंकको नाफा उच्च छ । कुमारी बैंक, जनता बैंकको नाफा सूचीमै सबैभन्दा कम रहेको छ । जेठ मसान्तसम्ममा बैंकहरुले ६२ अर्ब २९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेका छन् ।

व्याज खर्च ७० अर्ब ९६ करोड रुपैयाँ र व्याज आम्दानी १ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ । बैंकहरुले ७ अर्ब २८ करोड रुपैयाँ भने यसअघि नोक्सान व्यवस्थाको लागि राखेको रकम फिर्ता ल्याएका हुन् । यसअघि अपलेखन गरिएका ऋणबाट बैंकहरुले ८४ करोड रुपैयाँ उठाउन सकेका छन् । त्यस्तै ९ अर्ब १७ करोड रुपैयाँ नोक्सान व्यवस्थाको लागि छुट्याएका छन् । बैंकहरुको कुल कर्जा लगानीमा खराब कर्जा औसतमा १.६७ प्रतिशत रहेको छ । बैंकहरुको निक्षेप संकलन १९ खर्ब ७५ अर्ब र कर्जा लगानी १६ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरुले निजी क्षेत्र तर्फ १६ खर्ब ७ अर्ब रुपैयाँ, वित्तीय संस्थाहरु तर्फ ३९ अर्ब र सरकारी संस्थाहरु तर्फ ८ अर्ब ५ करोड कर्जा लगानी गरेका हुन् । बैंकहरले विदेशी मुद्राको विनिमयबाट ५ अर्ब ४५ करोड रुपैयाँ कमाएका छन् । २ अर्ब ४४ करोड गैर सञ्चालन आम्दानी गरेका छन् । बैंकहरुमा मुद्दती निक्षेपको रुपमा ८ खर्ब ३४ अर्ब रुपैयाँ, २ खर्ब ७२ अर्ब कल निक्षेप, ६ खर्ब ६८ अर्ब बचत निक्षेप र चल्ति बचत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । बैंकहरुको गैर बैंकिङ सम्पत्ती ३ अर्ब २ करोड बराबर रहेको छ ।

वाणिज्य बैंकहरुको चुक्ता पुँजी १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । तोकिएको ८ अर्ब बराबरको चुक्ता पुँजी पुग्न अझै ५८ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । यो अवधिसम्ममा राष्ट्रिय वाणिज्य बैंक, कृषि बिकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले राख्नु पर्ने बैधानिक सञ्चिती बाहेक अन्य सञ्चिती ३२ अर्ब ३८ करोड रहेको छ । एनसीसी र सिभिल बैंकको तथ्यांक भने यसमा समावेश छैन् । यी दुई बैंक नोक्सानमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । तर, असारसम्ममा यी संस्थाले नाफामा रहेको देखाउन सक्ने भएकोले यो विवरण नराखिएको हो ।।

 



प्रतिक्रिया दिनुहोस्