Logo

चुनाव, सरकार, एमाले र संविधान संशोधनका विषयमा राजेन्द्र महतोले के भने ?



अहिले देश राष्ट्रिय जनता पार्टीको मागमा अड्किए जस्तै भएको छ । विशेषगरी राजपाको मागका कारण सरकार अलमिलएको छ भने चुनाव प्रभावित बनेको छ । राजपाको मागलाई एमालेले ठाडै अस्विकार गर्दा समस्या समाधान नभएको देखिन्छ । खास समस्या के हो त ? यिनै विषयमा ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा राजपाका नेता राजेन्द्र महतोसँग अन्तरवार्ता लिनुभएको छ । अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा के छलफल र के सहमति भयो ?
वालुवाटरमा यस्ता बैठक र सहमति धेरै भए । तर अर्थै रहेन । पटकपटक भएका बैठकमा सरकारी पक्षले सम्झौता गरेको छ । पूरा गरेको छैन ।

प्रधानमन्त्रीले संविधान संशोधन बाहेकका माग पूरा गर्छु भन्नुभएको होइन ?
जुन सुकै प्रधानमन्त्री होस्, माग पूरा गर्दिन भनेर कसैले भनेको छैन । तर बोले अनुसार कसैले पनि माग पूरा गरेको छैन । आंशिक रुपमा केही गर्ने तर पूरा कहिल्यै नगर्ने प्रवृत्ति अलिेसम्म देखिएको छ । देउवाले हामीसँग तीन दिनभित्रै माग पूरा गर्छु भन्नुभएको छ । हेर्नुस न तीन दिनमा के भइहाल्छ ? प्रतिवद्धताको लागि मात्रै प्रतिवद्धता हो । माग पूरा हुँदैन ।

संविधान संशोधनको प्रस्ताव अघि बढाउने कुरा के भयो ?
संशोधनको प्रस्ताव फेल गराउनलाई जानीजानी अगाडि बढाउँछु भनेर के अर्थ ? संसदमा फेल गराउनका लागि प्रस्ताव तयार गरेको हो र ? त्यसैले त्यो हुँदैन । झारा टार्ने काम हामीलाई मान्य छैन । पास गराउने गरी अघि बढाउनुपर्छ । नत्र प्रस्तावलाई मतदानमा लानु पर्दैन । पास गराउने प्रयास गर्नुपर्छ ।

संसदबाट पास नभए पनि मतदानमा लगिएको कुरा स्विकार्नु पर्दैन ?
के गर्नुपर्छ हाम्रो पार्टीले निर्णय गर्छ । तपाईले गर्ने होइन ।

व्यवस्थापिका संसदको निर्णय तपाईहरुले मान्नु पर्दैन ?
व्यवस्थापिका संसद भनेको पार्टीको स्वरुप होइन ?

जनताको प्रतिनिधीले बनेको संसद हो नि ?
के कुरा गर्नुभएको हत्तेरि । त्यो त पार्टीको प्रतिनिधीहरु न हो । जनताको प्रतिनिधी हो कि पार्टीको ? सम्झौता पार्टीले गर्ने अनि प्रतिनिधी सभा देखाउने ? यो बेइमानी नभए के हो ?

एमालेले नमानेसम्म संविधान संशोधन हुन सक्दैन । अब के गर्ने त ?
केपी शर्मा ओलीले मुलुकलाई कहाँ पु¥याउने हो उहाँलाई नै राम्रोसँग सोध्नुहोला । हेर्दै जानुस् न मुलुकलाई उहाँले कहाँ लैजानुहुन्छ । उहाँको हठले देशको समस्या समाधान हुँदैन । हामीले उठाएका माग हाम्रो पार्टीको होइन, जनताको हो भनेर एमालले बुझ्नुपर्छ ।

 

नेपाली कांग्रेस संशोधनको पक्षमा देखिएको छ । तर दुई तिहाइ मत नपुग्ने भएपछि सरकारले के गर्ने त ?
देउवा प्रधानमन्त्री हुँदा दुई तिहाई पुग्नका लागि ९ भोट मात्रै कम भएको थियो । यसको अर्थ दुई तिहाई मत पु¥याउनका लागि समस्या छैन । नचाहेर मात्रै हो ।

अब के गर्ने त तपाईहरु ?
हेरौँ । मधेशको धैर्यताको बाँध कहिले टुट्छ । हाम्रो बैठक पनि हुन्छ । बैठकमा गम्भीरतापूर्वक छलफल गछौँ ।

संविधान संशोधन नभएसम्म तपाईहरु निर्वाचनमा नजाने नै हो त ?
हाम्रो बटमलाई त्यही हो नि । २ चरणको चुनावमा पनि भाग लिएनौँ । अहिले के परिवर्तन भएको छ र चुनावमा जानलाई ?

जनताले तपाईहरुलाई चुनावमा भाग लिनुपर्छ भनेर दबाब दिइरहेका छन् नि ?
मधेशको जनताले के चाहेको छ हामीलाई थाहा छ । हामीलाई कसैले सिकाउनु र बताउनु पर्दैन । जनताको भावना र समस्या हामीले बुझेका छौँ । बैठक बसेर आगामी कार्यदिशा तय गछौँ ।

संविधान संशोधन बाहेकका अरु माग ३ दिनभित्र पूरा भयो भने निर्वाचनमा जानुहुन्छ ?
निर्वाचनमा जानका लागि त हामी तयार छौँ नि । तर सरकार र तीन दलले हामीलाई चुनावमा जान नदिएको हो । त्यसैले पहिला सरकारलाई काम गर्न दिउँ । त्यसपछि हामी पार्टीभित्र छलफल गछौँ । त्यसपछि बताउँला ।

 

 



प्रतिक्रिया दिनुहोस्