Logo

ईक्यानको आयोजनामा शैक्षिक मेला सुरु, पहिलो दिनमा नै उल्लेख्य सहभागिता



साउन ५, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ इक्यानको आयोजनामा आजदेखि चार दिने शैक्षिक मेला सुरु भएको छ । ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा संचालन हुने मेलामा विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिने कन्सल्टेन्सीहरुको सहभागिता छ । मेलामार्फत नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्ने ईक्यानका अध्यक्ष प्रकाश पाण्डेको दाबी छ ।

पाण्डेले उच्च शिक्षाका लागि विदेश जान रोक्नु समस्याको समाधान नभएको धारणा राखेका थिए ।
मेलाको उद्घाटन नेपालका लागि श्रीलंकाली राजदुत डव्लु एस परेराले गरिन् । कार्यक्रममा शुभकामना ब्यक्त गर्दै श्रीलंकाकी राजदूत परेराले वैदेशिक उच्च शिक्षा सम्बन्धी परामर्शमा इक्यानको जिम्मेवार भूमिका प्रसंशनीय भएको धारणा ब्यक्त गरेकी थिइन् ।

मेलालाई सम्बोधन गर्दै नेपाल चेम्वर अफ कर्मशका उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, अभिभावक संघ नेपालका उपाध्यक्ष सुवास भण्डारी, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका अधिकृत तारानाथ निरौला लगायतले शुभकामना दिएका थिए ।

मेलाको प्रस्तुतकर्ता ब्रिटिश काउन्सिलका विजनेज डेभलप्मेन्ट हेड विक्रन्त गुरूङले शैक्षिक मेलाले सही सूचना मार्फत विद्यार्थीलाई आफूलाई उपयुक्त कलेज वा विश्वविद्यालयको छनोटमा मद्धत पुग्ने विश्वास ब्यक्त गरे ।


मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तीय शिक्षामा नेपालीहरुको समुचित पहुँचको लागि मार्ग प्रशस्त गर्न सकिने छ । मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता छ ।

मेलाको पहिलो दिन करीब २० हजार विद्यार्थी तथा अभिभावकहरुले मेला अवलोकन गरेको इक्यान सचिव तथा सूचना र सन्चार विभाग प्रमुख उमेश ढुंगेलले बताए ।

 



प्रतिक्रिया दिनुहोस्