Logo

कांग्रेस केन्द्रिय समितिमा भएका आरोप–प्रत्यारोप बारे नेता महेन्द्र यादवको खुलासा



साउन ९, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज सकिने भएको छ । बैठकले ६ वटा प्रदेशमा भएको स्थानीय तहको निर्वाचनको विषयमा निर्णय गर्ने बताइएको छ ।
नेपाली कांग्रेसका नेता महेन्द्र यादवले दिएको जानकारी अनुसार बैठकमा निर्वाचनमा भएका कमी कमजोरीको बारेमा गम्भीर छलफल भएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता यादवले आगामी २ नम्बर क्षेत्रको चुनावी रणनीतिका विषयमा समेत बैठकमा प्राथमिकताका साथ छलफल भएको छ ।

पार्टीलाई एकतावद्ध बनाएर चुनावमा जाने विषयमा सबै एकमत भएको नेता यादलको दाबी छ । चुनावमा कमजोर नतिजा आएकोमा सभापति शेरबहादुर देउवाको आलोचना भएको भन्ने विषय गलत भएको दाबी गर्दै नेता यादवले भने, “चुनावको रणनीति बनाउँदा सभापति लगायत सबै नेता, पदाधिकारी, केन्द्रिय सदस्य लगायत सबै पंक्ति सहभागि भएकाले कसैलाई व्यक्तिगत लान्छना लगाउनु हुँदैन ।”

सभापति देउवाले सबैको चित्त बुझाएर नै टिकट वितरण गरेको दाबी गर्दै यादवले जस र अवजस सामुहिक रुपमा लिनुपर्ने बताए । यद्यपी टिकट वितरणका लागि छोटो समय भएकाले केही समस्या देखिएको नेता यादवले टिप्पणी गरेका छन् ।

सभापतिले नातावाद र कृपावादलाई प्राथमिकता दिएर टिकट वितरण लगायतका काम गरेको पाइएको छ नि भन्ने प्रश्नमा यादवले खण्डन गर्दै देउवा उदारवादी भएको दाबी समेत गरेका छन् । तर सभापतिको चुनाव भने एउटा गुटबाट नै जितेको कुरा यादवले स्विकार गरे । अहिले भने वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग सहकार्य गरेर काम भइरहेको यादवको दाबी छ ।

फरक प्र्रसंगमा माओवादी केन्द्रले शाषन प्रणालीबारे नयाँ व्यवस्थाको खाँचो औल्याएको विषयलाई कांग्रेसले नमान्ने यादवले बताएका छन् । नेपाली कांग्रेसले संसदीय प्रणालीलाई नछाड्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डामा सहमत हुन नसक्ने यादवको स्पष्टोक्ति छ ।



प्रतिक्रिया दिनुहोस्