Logo

‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित



काठमाडौँ, ९ साउन । व्यवस्थापिका–संसद्ले ‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित गरेको छ ।

संसद्को आजको बैठकमा श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सभामुख ओनसरी घर्तीले विधेयक निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो ।

विधेयक प्रस्तुत गर्दै मन्त्री मन्सुरले विधेयकमा भएका आधारभूत शिक्षा, स्वास्थ्य, उत्पादनको उपयोग, कृषि कार्यक्रम, सामाजिक सहयोगलगायत व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद चूडामणि जंगली विकले विधेयक आउनु सकारात्मक भएको भन्दै यसले सामाजिक सुरक्षा क्षेत्रका समस्या समाधानमा सहयोग पुग्ने बताउनुभयो ।

यसअघि मन्त्री मन्सुरले ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको प्रतिवेदनसहितको सामाजिक सुरक्षा विधेयक, २०७२ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री मन्सुरले आजै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट बैठकमा ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा कृषि तथा जलस्रोत समितिका सभापति मोहनप्रसाद बरालले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक फिर्ता गर्नेसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ पेश गर्नुभएको थियो ।

संसद्को अर्काे बैठक यही साउन १५ गते दिउँसो १ बजे बस्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्