Logo

केन्द्रिय समिति बैठकको निष्कर्षदेखि मन्त्रीमण्डल विस्तार र लोडसेडिङ हुनुको कारणबारे डा. प्रकासशरण महत



नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक सकिएको छ । बैठकले केके निर्णय ग¥यो भन्ने विषयमा कांग्रेसका नेता प्रकासशरण महतसँग ऋषि धमलाले कुरा गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तीन दिनसम्म चलेको कांग्रेसको केन्द्रिय समिति बैठकको निर्णय के हो ?
स्थानीय तहको चुनावको नतिजाका सम्बन्धमा समग्र समिक्षा ग¥यौँ । आगामी चुनावमा सफलता हासिल कसरी गर्ने भन्ने विषयमा छलफल ग¥यौँ । निष्कर्षमा २ नम्बर प्रदेशको स्थानीय चुनावमा पार्टी एकतावद्ध भएर सम्पूर्ण शक्ति प्रयोग गर्ने निर्णय गरेका छौँ । त्यस्तै मधेशीको मागका बारेमा सकारात्मक भएर संविधान संशोधन गर्नका लागि पहल गर्ने निर्णय गरेका छौँ । संशोधनका लागि समर्थन जुटाउनका लागि पनि पहल गरिनेछ ।

अहिले संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था छैन । तपाईहरु किन प्रस्तावकै पछि लागिरहनुभएको छ ?
प्रस्ताव पारितका लागि हामीसँग दुई तिहाई बहुमत छैन । तर कसैलाई दुविधा नहोस कि नेपाली कांग्रेस मधेशीको माग पूरा गर्नका लागि संविधान संशोधन गर्न प्रतिवद्ध छ ।

तपाई राजपालाई सन्तुष्ट पार्ने प्रयास गर्दै हुनुहुन्छ हैन ?
हामीले राजपालाई होइन, मधेशी जनातालाई सन्तुष्ट पार्न खोजेका हौँ ।

तर संविधान संशोधनको प्रस्ताव त राजपाको हो नि ?
माग राजपाले राखेको होला । तर के विषयमा संशोधन गर्ने, के विषय जनतासँग जोडिएको छ भन्ने विषयको निक्र्यौल हामीले गरेका हौँ । जुन विषय त्यहाँको जनताको सरोकारसँग जोडिएको छ, त्यसलाई सम्बोधन गर्ने एजेण्डा हामी बनाउँछाँै । त्यसले कुनै पार्टीलाई तत्कालका लागि लाभ होला, तर हाम्रो उद्देश्य जनताको अधिकार स्थापित गर्ने नै हो ।

संविधान संशोधनको प्रस्ताव जनताको एजेण्डा हो र ?
कतिपय विषय जनताको सरोकारसँग जोडिएको छ, त्यसलाई हामीले संशोधनमा जोडेका छौँ ।

मन्त्रीपरिषद विस्तार किन हुन सकेको छैन ?
मन्त्रीपरिषद विस्तारका लागि गृहकार्य भइरहेको छ । आजै पनि मन्त्रीपरिषद विस्तार हुने सम्भावना छ ।

मन्त्रीपरिषदमा राप्रपा सहभागि हुने सम्भावना कति छ ?
अहिले तत्काल थप कुनै पनि दल सरकारमा सहभागि हुने विषयमा समस्या छ । अरु दल थपिने विषयमा छलफल भने भइरहेको छ ।

सरकारमा को सहभागि हुने भन्ने विषयमा नेपाली कांग्रेसभित्रको भागबण्डा मिलेको हो ?
मिलिसकेको छ । यो विषय बाहिर धेरै ठूलो बनाएर हेरिएको मात्रै हो । पार्टीभित्र त्यस्तो चर्को विवाद छैन ।

स्थानीय तहको निर्वाचनमा भएको भनिएको अन्तरघातका सम्बन्धमा पार्टीले के निर्णय ग¥यो ?
यो विषयलाई प्राथमिकतामा राखिएको छ । अन्तरघात वा असहयोग गर्ने कुराको अन्त्य गर्नका लागि विशेष कदम चालिनेछ । पार्टीभित्र बस्ने अनि असहयोग गर्नेलाई कारबाही गर्नुपर्छ ।

शेरबहादुर प्रधानमन्त्री भएपछि लोडसेडिङ हुन थाल्यो भन्ने जन गुनासो छ नि ?
उत्पादन भएको र आयात गरिएको विजुलीलाई प्रयोग गरेर जनताको घरदैलो र उद्योगमा वितरण गरिएको छ । कहीँ कतै केही समय हुने गरेको हुन सक्छ । तर सरकारले सम्भव भएजति विजुली वितरण गरेर लोडसेडिङ हटाउने प्रयास गरेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्