Logo

मन्त्रीका लागि फोकस, सकस र बकस



दीपेश केसी । समाचार विश्लेषण । नेपाल त्यस्तो देश हो जहाँ गणेशमानसिंह जस्ता नेता जन्मिएका थिए जसले किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कृष्णप्रसाद भट्टराईतर्फ देखाएका थिए । गिरिजाप्रसाद कोइराला पदलाई जहिले पनि फाटेको कुर्सी र च्यातिएको जुत्ता भन्थे । यो यस्तो देश हो जहाँ केशरबहादुर बिष्टले दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुँदा हावाहुरीका कारण भागदौड भई हताहती भएपछि नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिए । शैलजा आचार्यले सरकार संचालनमा असन्तुष्टि देखाउँदै मन्त्री पदबाट राजीनामा दिइन् । लोकतन्त्र अभ्यासका क्रममा हामीले त्यस्ता धेरै मानिसहरूलाई गुमायौं र चिन्न ढिलो ग¥यौं ।

इतिहासमा गर्व गर्न लायक क्षणहरू कमै हुन्छन् र ती क्षण सम्झेर सन्तोक मान्ने र भविष्यमा त्यस्तो संस्कार, मूल्य मान्यता र नैतिकता बोकेको पीढी जन्मने आशा गर्ने ठाउँ रहन्छ । तर, वर्तमानले हामीलाई राजनीतिक क्षेत्रमा पदलोलुप र नैतिकहीनहरूको भीड जम्मा गरिदिएको छ । ती भीडहरू राजनीतिमा यति अगाडि छन् र जाम बनाएर बसेका छन् कि नैतिकवान र सकारात्मक राजनीतिक संस्कार बोकेकाहरूलाई भीड छिचोलेर बढ्न कठिन छ । राजनीति कति प्रदूषित छ भन्ने निर्माणाधीन चक्रपथमा उड्ने धुलो वायुमण्डलका अन्य ग्याँससँग मिसिएर पार्ने प्रदूषण हेर्दा थाहा लाग्छ । तैपनि, आशाको मार्ग फराकिलो हुँदैछ । ढिलोचाँडो स्वच्छ राजनीतिक संस्कार स्थापित हुनेछ ।

पद सबथोक हो ?

राजनीतिमा लाग्नेका लागि पद महत्वपूर्ण हुन्छ । राजनीतिमा लाग्नेमध्ये धेरैले प्रधानमन्त्री बन्ने उद्देश्य राखेका हुन्छन् यति होइन भने कम्तिमा मन्त्री बन्ने सपना साँचेकै हुन्छन् । तर, राजनीति सरकारी पदमा पुग्नुमात्र होइन । राजनीति देश र समाजको हितका लागि हो । पदमा नपुगी त्यस्ता कामहरू गर्न सकिन्छ र गरिएका उदाहरणहरू विश्व राजनीतिमा प्रशस्त छन् । महात्मा गान्धी भारतको राष्ट्रपति या प्रधानमन्त्री भएनन् तैपनि उनी उच्च राजनीतिक व्यक्तित्वको पहिचान बनाउन सफल भए । मार्टिन लुथर किंग अमेरिकाको कुनै उच्च राजनीतिक पदमा नपुगेपनि रङ्गभेदविरूद्धको आन्दोलनलाई सफल बनाए । गणेशमान सिंह पञ्चायतकालभन्दा अगाडि मन्त्री भएपनि त्यसपछि मन्त्री या प्रधानमन्त्रीको आशा राखेर राजनीतिमा लागेनन् । तर, अहिले राजनीतिमा यस्तो पुस्ता हावी छ जसले पदलाई सबथोक ठानेर नैतिक मूल्य र मान्यतालाई समेत विक्री गरेर भएपनि पद पाउन खोज्छ ।

नेपाली राजनीतिमा प्रधानमन्त्री पदका लागि अपवित्र चलखेलहरू हुनथालेको लामो समय बितिसकेको छ । भन्नलाई जनताको मतबाट चुनिएका प्रतिनिधिको बहुमतको प्रधानमन्त्री दाबी गरिन्छ । तर, जनमतकै खिल्ली उडाउने गतिविधिहरू गरेर धेरै नेता सत्तामा पुगे र झरे । पदकै गरिमा घट्ने शैलीमा क्रियाकलापहरू भए । नतोकिएपनि व्यवहारिक रूपमा मन्त्री बन्ने मापदण्ड जे हुनुपर्ने हो त्योभन्दा भिन्न देखिदैछ । सम्बन्धित विषयको जानकार, परिपक्व, केही गरौं भन्ने स्वभावको मान्छे सायदै मन्त्री हुनथालेका छन् । मन्त्री बन्न पार्टीभित्र पनि गुट विशेषको हुनुपर्ने परम्परा विकास भएको छ । जुनसुकै सरकार बन्दा पनि पार्टीहरूबीच मात्र भागवण्डा नभई गुट विशेष र त्यसभित्रको पनि उपगुटले समेत भागवण्डा पाएपछि गुट या उपगुटका मुख्य नेताको विश्वासपात्र अझ भन्नुपर्दा एस म्यानले मन्त्री पाउन सक्छ । गलत पद्धति विकास हुँदा भ्रष्टाचार, अनैतिक क्रियाकलाप र सुस्त कामकारबाही हुनगई जनता मारमा परिरहेका छन् । सही मान्छे सही ठाउँको थिती बस्न सक्दा देश र जनताले दुःख पाइरहेका छन् ।

पर्खनै नसक्ने

अहिले पाएन भने अर्को पटक पाइँदैन भन्ने सोच राजनीतिमा लाग्नेहरूमा हावी छ । बल्लबल्ल सांसद बनेकाहरूलाई यही मौकामा मन्त्री बनिहालौं नत्र अर्कोपटक चुनाव जितिने हो होइन भन्ने छ । यतिसम्म कि टिकट पाउने नपाउने डरले सताएको छ । त्यसमाथि समानुपातिकको सिट घटे झन् सम्भावना कम हुन्छ । पदमा रहँदा काम नगर्ने मात्र आफ्नो स्वार्थ पूरा गर्न खोज्नेको संख्या अत्याधिक छ । सांसद र मन्त्री पद छोटो समयको लागि हो भनेर अहिले नै कमाउनुपर्छ भनेर लाग्नेहरू छन् । यस्तो अवस्थाले राजनीतिक गर्नेहरूमा सकारात्मक प्रगतिका लागि अपनाउनुपर्ने संयमतामा भावनामा कमी आइसकेको छ ।
कतिपय राजनीतिक दलमा मुख्य नेताका एस म्यानहरू दोहोरिएर मन्त्री बनेका छन् ।

कतिपय क्षमता भइकन पनि मौका पाउँदैनन् । अहिलेको भन्दा राम्रो मिहेनत गरेर प्रगतिपथमा चढ्छु भन्ने सोच विकास हुनै पाएन । शिर्ष नेताको घरमा धाएर र तिनका आसेपासेलाई फकाएर पद हत्याउन खोज्ने प्रवृत्ति हावी भएको छ । राजनीतिको तल्लो निकायमा काम गरेमा जनतालाई सुख सुविधा हुने हो तर शिर्ष नेताले यी कुरा बुझ्दैनन् या देख्दैनन् भन्ने सोच विकास भएको छ । जसका कारण कुटिल तरिकाले पदमा पुग्नेहरू बढेका छन् । यहाँ कोही पर्खन सक्ने क्षमता विकास गरिरहेका छैनन् । जो पर्खने धैर्यता राख्छ तिनको रेल छुटिसक्छ । मन्त्री पदका लागि जालझेल र तिकडम चाहिने पद्धति विकास भइसकेको छ । त्यसैले कुनैपनि मन्त्रीले सरकार संचालनमा असन्तुष्टि या नैतिकताका आधारमा राजीनामा दिएको घटना सुन्न नपाएको वर्षौं भइसकेको छ । युग नराम्रो होइन यो युगमा राजनीतिक गर्नेहरूले सत्तालाई सबथोक देखेका छन् । सत्ताभन्दा माथि पनि केही छ र त्यसले पनि तिनको फैसला गर्छ ।



प्रतिक्रिया दिनुहोस्