Logo

किन हुँदैछ आगामी हिउँदमा लोडसेडिङ ? यस्तो छ कारण



साउन १०, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले अघि सारेका योजना सफल हुन नसक्दा आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको हो ।

बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन् ।

भारतबाट थप बिजुली आयातका लागि आवश्यक ढल्केबर सबस्टेसनको कामसमेत रोकिएको छ । यसले गर्दा हिउँदमा लोडसेडिङ हुने सम्भावना देखिएको हो । वार्षिक रूपमा बिजुलीको माग करिब दुई सय मेगावाट बढिरहेको छ, तर त्यस अनुपातमा विद्युत् उत्पादन नबढेको प्राधिकरणको तर्क छ । जसका कारण यथास्थितीमा यस वर्षको हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था छ ।

प्राधिकरणले यस वर्ष बिजुलीको माग एक हजार सात सय ४२ मेगावाट पुग्ने प्रक्षेपण गरेको छ । तर, बिजुलीको आपूर्ति भने अहिलेको संरचनाबाट भारतबाट आयातसहित १ हजार मेगावाटको हाराहारीमा मात्रै हुने अनुमान गरिएको छ । अर्थात् झन्डै सात सय मेगावाटको लोडसेडिङ गर्नुपर्ने अवस्था छ । यस वर्ष कुनै पनि ठूला आयोजना राष्ट्रिय प्रसारण लाइनमा नजोडिने भएकाले पनि समस्या देखिएको हो ।

प्राधिकरणले दार्चुलामा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसैवर्ष आउने भनिएको १४ मेगावाटको कुलेखानी तेस्रोको निर्माण ठेकेदारले काम नगर्दा अलपत्र जस्तै छ ।

ऊर्जा दक्षता कार्यक्रमअन्तर्गत प्राधिकरणले भारतीय सरकारी कम्पनीसँग कम विद्युत् खपत गर्ने, तर बढी उज्यालो दिने एलइडी बल्ब किनेर उपभोक्तालाई बिक्री गर्ने योजना ल्याएको थियो । प्राधिकरणले हिउँदको विद्युत् माग व्यवस्थापन गरी लोडसेडिङ हटाउन पहिलो चरणमा एक करोड र दोस्रो चरणमा एक करोडवटा एलइडी बल्ब इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड (इइएसएल)सँग खरिद गर्न लागेको थियो ।

कानुनी बाधा देखिएको भन्दै विरोध भएपछि बल्ब खरिद प्रक्रिया प्रभावित भएको थियो । यद्यपी सर्वाेच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियालाई रोक्न माग गर्दै परेको रीटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सार्वजनिक खरिद ऐन विपरीत एलइडी बल्ब खरिद हुन लागेको भन्दै यसलाई तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै सर्बाेच्च अदालतमा निवेदन परेको थियो ।

सर्वोच्चले प्राधिकरणको पक्षमा फैसला गरे पनि अहिले बल्ब खरिद प्रक्रिया रोकिएको छ ।।



प्रतिक्रिया दिनुहोस्