Logo

नयाँ स्वास्थ्य नीति आवश्यक : स्वास्थ्यमन्त्री पोखरेल



काठमाडौँ, ११ साउन । नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले नयाँ स्वास्थ्य नीति आवश्यक भएको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विस्तार गर्नुभएको मन्त्रिमण्डलमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट तेस्रो पटक स्वास्थ्यमन्त्री बन्नुभएका पोखरेलले साँझ पदभार ग्रहण गर्दै पछिल्लो समयमा देखापरेका स्वास्थ्य समस्या र विषयवस्तुलाई समेटेर नीति बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नसर्ने रोग, मानसिक स्वास्थ्य समस्यालगायतका विषय समेटेर नीति बनाउनुपर्छ, जसमा स्वास्थ्यका नयाँ समस्या, चुनौती र समाधानका विषय समेटिनेछ ।”

संविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा व्याख्या गरेकाले आफूले पहिलो प्राथमिकतामा आधारभूत स्वास्थ्य सेवाको कार्यान्वयनलाई राखेको उहाँले स्पष्ट पार्नुभयो ।

अघिल्ला मन्त्रीले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिने बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “मैले अघिल्लोपटक अघि बढाएको निःशुल्क कार्यक्रमलाई परिमार्जन गरी अगाडि बढाउने कार्यका साथै बढ्दै गएको नसर्ने रोग, मानसिक रोग, औषधि, उपकरणलगायतका विषयलाई पनि प्राथमिकतामा राखेको छु ।”

देशमा तेस्रो चरणको स्थानीय तह निर्वाचन, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख काम पूरा गर्न बनेको सरकारको मन्त्री भएकाले त्यसतर्फ पनि सबैले भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्यमन्त्री पोखरेलले नयाँ संविधानको मर्मअनुसार जनतालाई स्वास्थ्य सेवा पु¥याउने कामलाई प्रमुखताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँ विसं २०६२÷६३ को जनआन्दोलनपछि तत्कालीन नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा पहिलो पटक स्वास्थ्यमन्त्री नियुक्त हुनुभएको थियो । दोस्रो पटक आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचित सरकारमा स्वास्थ्यमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारमा शिक्षामन्त्री नियुक्त हुनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्