Logo

प्रधानमन्त्रीले दिएको निर्देशन अनुसार खाल्डाखुल्डीहरु पुर्ने काम भैरहेको छ : भौतिकमन्त्री बलायर



काठमाडौं, १३ साउन । भौतिक योजना तथा यातायातमन्त्री विरबहादुर बलायरले अबदेखि सडकमा खाल्डाखुल्डीहरुको सास्ती सर्वसाधारणहरुले भोग्न नपर्नेे बताएका छन् ।
उनले भने,‘सडकका खाल्डाखुल्डीहरु पुर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाजीले निर्देशन दिएपछि अहिले धमाधम काम भैरहेको छ, मैले पनि मन्त्रालयमा आउनेवित्तिकै सम्बन्धित निकायलाई यसबारेमा निर्देशन दिईसकेको छु, खासमा भन्ने हो भने यो कामको लागि प्रधानमन्त्रीले निर्देशन दिरहनुपर्ने थिएन, यो अत्यन्त दुःखदायी कुरा हो, कसले यो काम गर्ने हो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, निर्देशन दिईसकेकोछु।’’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्री बलायरले सडकका देखिएका खाल्डाखुल्डीहरुको बारेमा प्रधानमन्त्रीजस्तो व्यक्तिले बोल्नु नै बिडम्बना भएको स्पष्ट पारे । उनले भने,‘खाल्डाखुल्डीहरु पुर्न भनेर प्रधानमन्त्रीले बोल्नु भनेको विडम्बना हो, तर प्रधानमन्त्रीले जनताले भोगेको सास्ती र समस्या देखेर यस्तो निर्देशन दिनुभएको ,उहाँको निर्देशन अनुसार अहिले धमाधम काम भैरहेको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै उनले मेलम्ची खानेपानी आयोजनाका कारणले काठमाडौंका सडकहरुमा खाल्डाखुल्डीहरु भएका र धुलाम्य भएको स्पष्ट पारे । उनले भने,‘अब यसको लागि पनि हामीले विकल्प सोचिसकेका छौं, सेगमेन्टवाईज अनुसार काम भैरहेको छ, अहिले नै खाल्डाखुल्डीहरु पुर्ने र यी समस्याहरु कसरी समाधान गर्ने भन्नेबारे गृहमन्त्रीसँगपनि छलफल भैरहेको छ।’

त्यस्तै उनले आफूले दैनिक १५ घण्टा काम गर्ने भनेर सार्वजनिक प्रतिबद्धता जनाएअनुसार पछिल्ला दुई दिनमै आफूले गरेको प्रतिबद्धता अनुसार त्यो भन्दापनि बढि नै १६ घण्टासम्म काम गरिसकेको दाबी गरे । उनले आफूलाई कुनै विलासिताबारे सोख नभएको समेत जिकिर गरे । उनले भने,‘म त मन्त्रीको सपथग्रहण गर्न जाँदापनि सार्वजनिक यातायात चढेर गएको थिएँ, त्यसैले मलाई यस्तो विलासिताको बारेमा कुनै सोख छैन, जीवनको अधिकांश समय संघर्षमा विताएको र हत्केलामा मृत्युलाई राखेर हिँडेको मान्छे हुँ, त्यसैले मेरो पूरा ध्यान भनेको नै विकास हो, र जनतालाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने नै हो।’

मन्त्री बलायरले काठमाडौंमा देखिएका धुलो र टा«फिक जामको समस्या छिट्टै हल गर्ने समेत जनाए । उनले भने,‘अहिले काठमाडौंमा धेरै धुलोको समस्या छ, यसलाई हल गर्नको लागि हामी सम्बन्धित निकायका सबै अधिकारीहरु बसे छलफल गरेका छौं, त्यस्तै सडक जामको बारेमापनि म हिजोमात्रै उक्त समस्या कसरी समाधान गर्न सकिन्छ भनेर स्थलगत निरिक्षणमा गएको थिएँ।’ उनले आफू काम गर्नको लागि आएको उल्लेख गर्दै भने,‘मलाई कुनै चर्चा कमाउनु छैन, म सेलिब्रेटी बन्न आएको होईन।’

बलायरले पूर्वाधार निर्माणमा अन्तर्रा्ष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गरे ।  उनले भने,“गुणस्तरीय पूर्वाधार निर्माणमा मन्त्रालयले अब विशेष ध्यान दिनेछ ।” अन्तरमन्त्रालयबीच समन्वय गर्ने संयन्त्र नहुँदा सडकसम्बन्धी समस्याको प्रश्न उठेको बताउँदै मन्त्री बलायरले भने, “सडकको समस्या एउटै मात्रै नभई अन्तर मन्त्रालयसँग सम्बन्धित छ, अघिल्लो दिन कालोपत्र गर्ने अनि भोलिपल्ट खन्ने काम अब अन्त्य गरिनेछ ।”

सडकका सामान्य खाल्टाखुल्टी पुर्न समेत प्रधानमन्त्री बोल्नुपर्ने अवस्था आउनु ठीक होइन भन्दै उनले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कामले द्रुतता नपाउँदा उपत्यकावासीले केही समस्या झेल्नुपरेको स्पष्ट पारे ।

कतिपय पूर्वाधार निर्माणमा गुणस्तरको प्रश्न उब्जिएका कारण स्वयं व्यवसायी, राजनीतिक दल, कर्मचारी तन्त्र र सरकारको काम कारबाहीमाथि प्रश्न उठेको पक्षलाई हेक्का गर्दै गुणस्तरका बारेमा अब कुनै पनि हालतमा सम्झौता नहुने प्रतिबद्धता उनले व्यक्त गरे ।

त्यस्तै उनले माघ ७ गतेभित्रै बाँकी सबै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले आफूहरुको मुख्य ध्यान यतातिर भएको समेत स्पष्ट पारे । मन्त्री बलायरले अहिले देशमा दिगो विकास संकटमा रहेको समेत चिन्ता व्यक्त गरे । उनले भने,‘अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने हाम्रो दायित्व हो, त्यस्तै दिगो विकास गरेर जनतालाई यसको दिगो उपभोग गर्न पाउने वातावरण बनाउनु हो, म यसको लागि गम्भिर भएर काम गर्ने विश्वास दिलाउँछु।’

उनले आफ्नो कार्यकालमा धेरै महत्वपूर्ण कामहरु गर्नुपर्ने भएकोले त्यसको लागि आफूले तत्कालिन र दिर्घकालिन योजना समेत बनाउने तयारी गरिरहेको जनाए । उनले भने,‘मेरो चाहना भनेको नै नेपाली जनताको शीर उठाउनु हो, त्यसैले म समयको गति र प्रवाहमा हिँड्ने मान्छे भएकोले सोही अनुसार काम गर्छु।’

नेपाल दिगो विकासको पक्षधर राष्ट्र भएकोले यसका सुचकहरु अनुसार नै काम गर्न पर्याप्त आधार नभएर पनि लोकल ईण्डिकेटर अनुसार काम गर्नुपर्ने उनको धारणा थियो । उनले भने,‘दिगो विकासका लक्ष्यहरु परिपूर्ति गर्नुपर्छ, मेरो ध्यान यतातिर छ।’

 



प्रतिक्रिया दिनुहोस्