Logo

सबै चुनाव सकिएपछि नयाँ जनमतका आधारमा संविधान संशोधन अघि बढाउनुपर्छ



दलहरुबिच संविधान संशोधनको विषय र चुनावका विषयमा एकमत हुन सकेका छैनन् । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओलीबिच प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै चरणमा गर्ने भन्ने विषयमा एकमत देखिएको छ । राजपाको मागका विषयमा भने एकमत देखिएका छैनन् । यिन विषयमा केन्द्रित रहेर एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसँग ऋषि धमलाले कुरा गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्षका केपी शर्मा ओलीबिचमा चुनावका विषयमा बोली मिलेको हो ?
बोली त अब कतिपय विषयमा मिल्छ, कतिपय विषयमा मिल्दैन । समय अत्यन्त सिमित भएकाले प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै चरणमा गर्ने कुरामा एक हुन सकिन्छ । थोरै समयमा चुनाव सम्पन्न गर्नुपर्ने भएकाले एकैपटक चुनाव गराँै भन्ने कुरा हो । खर्च पनि कम हुने भएकाले एकै पटक गर्नुपर्छ । तर समय पर्याप्त हुन्थ्यो भने चुनाव २ पटक गर्दा नै राम्रो र प्रभावकारी हुन्थ्यो । यि सबै विषयमा प्रधानमन्त्रीले पनि सकारात्मक कुरा गर्नुभएकाले एमालेका अध्यक्षसँग कुरा मिलेको हो । यो राम्रो कुरा हो ।

एकैपटक गर्दा समस्या पनि आउला नि ?
समस्या त हुनसक्छ । निर्वाचन आयोगसँग राम्रोसँग छलफल गरेर अघि बढ्नुपर्छ । मतपत्र कस्तो बनाउने भन्ने लगायतका विषयमा छलफल गरेर समस्या नआउने गरी काम गर्नुपर्छ । किनकी दुवै चुनाव एकैपटक गर्ने कुरा संवेदनशील छ ।

निर्वाचन आयोगले मिति घोषणा भएपछि कम्तिमा ४ महिना समय चाहिन्छ भनेको छ । समय थोरै छ । कसरी गर्न सकिन्छ ?
मंसिर महिनाभित्रमा सबै चुनाव सम्पन्न गर्नैपर्छ । अझ मंसिरको दोस्रो हप्ताभित्र चुनाव सक्ने गरी कार्यतालिका बनाउनुपर्छ ।

तर समस्या धेरै छ । संविधान संशोधनको कुरा अड्किरहेको छ ।
समस्या त छन् । संविधान संशोधनको कुरामा अहिले अल्झिनु हुँदैन । सबै चुनाव सकिएपछि नयाँ जनमतका आधारमा संविधान संशोधन अघि बढाउनुपर्छ ।

राजपाले त अहिले नै संशोधन गर्नुपर्छ भनेको छ । कसरी कुरा मिल्छ ?
राजपाले भनेको छ । तर राजपाले भन्दै गर्दा पनि ६ वट प्रदेशको चुनाव भइसक्यो । ति प्रदेशमा पर्ने तराई मधेशका जिल्लाका जनताले पनि उत्साहजनक सहभागिता जनाएका छन् । प्रदेश नम्बर २ को चुनावमा पनि जनताले साथ दिनेछन् । त्यसैले संविधान संशोधन नगरीकन पनि चुनाव गर्न सकिन्छ । त्यसले राजपालाई कुनै कठिनाई हुँदैन ।

राजपा चुनावमा गएन भने के गर्ने ?
कुनै पार्टी चुनावमा जान्न भन्यो भन्दैमा चुनाव नै नगर्ने ? त्यस्तो गर्न सकिदैन । चुनावमा जाने वा नजाने भन्ने कुरा पार्टीको स्वतन्त्रताको कुरा हो । तर चुनावमा गएर जनतासँग जनमत लिने र घुलमिल हुने कुरा जुनसुकै पार्टीका लागि पनि महत्वपूर्ण कुरा हो ।

संविधान संशोधन गरेर चुनावमा जाँदा एमालेलाई के समस्या छ ?
संविधान संशोधनका लागि अहिले समय नै छैनन नि । हामी संविधान संशोधनको विपक्षमा छैनाँै । चुनाव सकेपछि संविधान संशोधन गरौँ भन्ने हो । अहिले सरकारले गरेको संशोधनको प्रस्तावमा नै हामी सहमत छैनौँ । राजपाले उठाएका विषयमा पनि हामी सहमत छैनौँ । त्यसैले संशोधनका लागि लागि धेरै बल गरियो भने विवाद बढ्छ ।

 



प्रतिक्रिया दिनुहोस्