Logo

संविधान संशोधन काँग्रेसको मुख्य एजेन्डा : मन्त्री मन्सुर



राजविराज, १७ साउन । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले मधेसी जनताको अधिकार प्रवद्र्धन र विधमान राजनीतिक संक्रमणकाल अन्त्यका लागि संविधान संशोधन नेपाली काँग्रेसको मुख्य एजेन्डा भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो “हाम्रा सम्पूर्ण शक्ति संविधान संशोधन र निर्वाचनमा केन्द्रीत छ, संविधान संशोधन भयो भने देशमा राजनीतिक संक्रमणकाल अन्त्य हुन्छ, त्यसैले काँग्रेस संविधान संशोधनको पक्षमा दृढ भएर उभिएको छ ।”

मन्त्री मन्सुरले मधेसी, मुस्लिम, दलित, जनजाति, पिछडिएका वर्ग, हिमाल, पहाड र तराई÷मधेसमा बसोबास गर्ने सबै नेपालीको हित हुने गरी सविधान संशोधन हुनु अवश्यक रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षीदलका अडानका कारण अहिलेसम्म संविधान संशोधन हुन नसकेको बताउनुभयो ।

संविधान संशोधनको जिमेवारी अब काँग्रेसको काँधमा आएको बताउँदै उहाँले यो जिम्मेवारीलाई काँग्रेसले पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

 



प्रतिक्रिया दिनुहोस्