Logo

भारतका विभिन्न नाकाबाट आयात गरिएको बिजुलीको मुल्य आगामी सातादेखि सस्तिने



साउन २७, काठमाण्डौ । विद्युतको माग पूरा गर्नका लागि छिमेकी देश भारतको भर पर्नुपर्ने अवस्था छ । भारतबाट विजुली किनेर वितरण गर्दा महङ्गो पर्ने गरेको छ । नेपाल–भारत विद्युत् आदान–प्रदान समिति पीईसीको बैठकले आगामी ७ महिनाका लागि विभिन्न १२ नाकाबाट आयातित बिजुलीको नयाँ दर कायम गरेको छ । अब विगतकोभन्दा केही कम पैसा तिरेर विजुली आयात हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतका विभिन्न नाकाबाट आयात गरिएको बिजुलीको मुल्य आगामी सातादेखि सस्तिने भएको छ । नेपाल–भारत विद्युत् आदान–प्रदान समिति पीईसीको मंगलबार सम्पन्न बैठकले आगामी ७ महिनाका लागि विभिन्न १२ नाकाबाट आयातित बिजुलीको नयाँ दर कायम निर्णय गरेको हो ।

दुइ पक्षिय बैठक नबस्दा विगत ६ वर्षदेखि टनकपुर र ढल्केबर–मुज्जफरपुर प्रसारण लाइनबाहेकका अन्य नाकाबाट आयात गरिएको विद्युत्को भाउ प्रत्येक वर्ष ५.५ प्रतिशतका दरले वृद्धि हुँदै आएको थियो ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय केन्द्रीय विद्युत् प्राधिकरणका प्रतिनिधिबीच भएको पीईसी बैठकले ११ केभी, ३३ केभी र १३२ केभी वितरण लाइनमार्फत आउने विद्युत्को भाऊ सस्तो भएको हो । हाल प्रतियुनिट १०.४५ रुपैया रहेकोमा घटेर ११ केभीमार्फत आउनेमा प्रतियुनिट १०.३२ तथा ३३ केभीमार्फत आउने बिजुलीमा पहिला ९.७२ पैसा रहेकोमा घटेर ९.६० र १३२ केभीमार्फत आयात हुने बिजुलीमा ५० मेगावाटसम्मको ८.९९ र ५० मेगावाटमाथिको ८.८८ रुपैयाँ रहेकोमा ८.८८ रुपैयाँ प्रतियुनिट कायम गरिएको छ । सन् २०१८ को मार्चसम्म कायम हुने र मार्चमा बैठक बसेर नयाँ रेट निर्धारण हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ३३ केभीमार्फत रक्सोल, सिरहा, जलेश्वर, कटैया र नानपारा नाकाबाट करिब ५० मेगावाट, ११ केभीमार्फत लाली, हुटी र जौलीजीवीमार्फत ९ सय किलोवाट तथा १३२ केभीमार्फत कटैया–कुसाहा प्रसारण लाइनमार्फत १ सय ३० र गण्डक–रामनगरमार्फत ३० मेगावाट आयात गरिरहेको छ । बैठकले आगामी हिउँदको लागि तीन नाकाबाट १ सय १० मेगावाट बिजुली आयात गर्ने टुंगो लगाएको छ । कटैया–कुशाहा र रक्सोल–परवानीपुर १३२ केभी नयाँ प्रसारण लाइनबाट थप ५०÷५० मेगावाट लेऊ र तिर अर्थात टेक एण्ड पेमा आधारित रहेर आयात गर्ने र त्यसको मुल्य प्रति युनिट ८.८८ रुपैयाँ तय गरिएको छ ।

नेपालको प्रस्ताव बमोजिम भारत धनगढी–पलिया ३३ केभी लाइनबाट थप १० मेगावाट बिजुली निर्यात गर्नसमेत सहमत भएको छ । बैठकमा नेपालले पलिया–धनगढी, नानपारा–कोहलपुर र सम्पतीया–मैनैयामा १३२ केभी तथा नानपारा–खडिया र नौतनवा–भैरहवामा ३३ केभी लाइन निर्माणको प्रस्ताव राखिएको छ । अहिले भारतबाट २७१ मेगावाट विजुली आयात भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्