Logo

आइतबार संविधान संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत भई पारित हुन्छ: वाणिज्यमन्त्री विश्वकर्मा



काठमाडौं, साउन २७ । वाणिज्यमन्त्री मीन विश्वकर्माले अबको संसद बैठकमा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश भई पारित हुने ठोकुवा गरेका छन् । प्रस्तावको पक्षमा आवश्यक मत पुग्ने बताउँदै भने,‘आइतबारको संसद बैठकमा संशोधन प्रस्ताव प्रक्रियामा लगी निर्णयार्थ पेश हुन्छ र पारित पनि हुन्छ ।’

प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि आउने दाबी गर्दै त्यसबारे आन्तरिक छलफल भइरहेको खुलासा समेत गरे । एमालेका सामु प्रस्तावको पक्षमा जानुको विकल्प नभएको मन्त्री विकको भनाई थियो । उनले भने,‘एमालेका लागि संविधान संशोधन प्रस्ताव निल्नु न ओकल्नु भइसक्यो ।’ राजनीतिक सहमति गरेर अगाडि बढ्ने नीतिका साथ सरकार लागेको बताए ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मंसिरको पहिलो हप्ताका लागि प्रदेश र संसदको चुनाव एकैसाथ गर्नेगरी घोषणा हुने खुलासा गरे । सरकार एकै चरणमा चुनाव गर्ने पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अगाडि चुनावको मिति घोषणा हुने बताए ।

सरकारले राजनीतिक माहोल मिलाइसकेको र निर्वाचन आयोगले प्राविधिक र जनशक्तिको विषय टुंगो लगाएपछि चुनावको मिति घोषणा हुने बताए । एकै चरणमा चुनाव गर्दा प्रमुख प्रतिपक्षी एमालेको समेत चित्त बुझ्ने भएकाले त्यसबारे राजनीतिक सहमति बनिसकेको बताए । चुनाव एकै चरणमा गर्दा मतपेटिका, कर्मचारी र प्राविधिकको संख्या चार गुणा बढी हुने भएकाले चुनौती रहेपनि सरकारले चुनाव गरेरै छाड्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस्