साउन ३१, काठमाण्डौ । बाढी र पहिरोका कारण सर्वसाधारण घरवारविहीन भई भोकभोकै बस्नुपरेको अवस्थामा आपूर्ति मन्त्रालयले बाढीपीडितका लागि तयार गरेको ‘राहत प्याकेज’ भने गोदाममै थन्किएको छ । प्रभावित जिल्लाका दैवीप्रकोप समितिबाट माग नआएको भन्दै मन्त्रालयले राहत प्याकेज विभिन्न स्थानमा रहेका खाद्य संस्थान र साल्ट ट्रेडिङका गोदाममा थन्क्याएको हो । ‘बाढीपीडितलाई तत्कालै राहत सामग्री उपलब्ध गराउन आइतबार नै प्याकेज तयार र्गयौं तर प्रभावित जिल्लाका जिल्ला दैवीप्रकोप समितिबाट माग नै आएन,’ मन्त्रालयका सचिव प्रेम राईले भने ।
सचिव राईका अनुसार मन्त्रालयले बाढीबाट प्रभावित ५० हजार परिवारलाई वितरण गर्न चामल, सिमी दाल, नुन र खानेतेलसहितको ‘राहत प्याकेज’ बनाएको छ । मन्त्रालयले प्रत्येक परिवारका लागि ३० किलो चामल, दुई किलो कर्णालीको सिमी दाल, एक किलो नुन र एक लिटर खानेतेलको प्याकेज तयारी अवस्थामा राखेको हो। ‘५० हजार पीडित परिवारका लागि राहत सामग्री तयारी अवस्थामा राखेका छौं, माग आउनेबित्तिकै परिचालन गर्छौं’, सचिव राईले भने ।
मन्त्रालयका अनुसार दाल र चामलको प्याकेज तयार गरी नेपाल खाद्य संस्थानको विर्तामोड, विराटनगर, लहान, राजविराज, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र सुर्खेतको कार्यालयमा तयारी अवस्थामा राखिएको छ । संस्थानको थापाथलीस्थित गोदाममा ३४ हजार आठ सय ३४ क्विन्टल, विर्तामोडमा सात हजार आठ सय क्विन्टल, विराटनगरमा चार हजार ७६ क्विन्टल, सिरहाको लहानमा २३ हजार पाँच सय ८६ क्विन्टल र जनकपुरमा तीन हजार तीन सय क्विन्टल चामल मौज्दात राखिएको छ ।
यस्तै, पर्साको वीरगन्जमा १२ हजार आठ सय ८८ क्विन्टल, रुपन्देहीको भैरहवामा पाँच हजार सय ९३ क्विन्टल, बाँकेको नेपालगन्जमा आठ सय ८० क्विन्टल, बर्दियाको राजापुर नौ हजार तीन सय ५२ क्विन्टल, कैलालीको धनगढीमा दुई हजार सात सय ५४ क्विन्टल चामल भण्डारण गरी राखिएको छ। संस्थानले काठमाडौंबाट वितरण गर्ने भनेर नौ क्विन्टल कर्णालीको सिमी दाल मौज्दात गरी राखेको छ। दुई किलोका दरले ५० हजार दालको पोका तयारी अवस्थामा छ ।
यिनै जिल्लाका साल्ट ट्रेडिङको कार्यालयमा नुन र खानेतेल मौज्दात राखिएको छ । साल्ट ट्रेडिङले वीरगन्जमा एक लिटर दरको ५० हजार परिवारका लागि ५० हजार खानेतेलको पोका तयारी अवस्थामा राखेको छ ।
यो खबर राजेश बर्माले आजको अन्नपूर्णमा लेखेका छन् ।