Logo

अब होटलबाट नै अमेरिकी डलर साट्न पाइने



साउन ३१, काठमाण्डौ । मौद्रिक नीतिमा उल्लेख गरिएको विषयलाई राष्ट्रबैँकले कार्यान्वयनमा ल्याएको छ ।

अमेरिकी डलर साट्ने व्यवस्था, पाटपुर्जा आयात र नेपालमा काम गर्ने विदेशी श्रमिकसँग सम्बन्धित नियममा परिमार्जन गरिएको छ । राष्ट्रबैँकले होटलमा नै प्रतिग्राहक ३ सय अमेरिकी डलरसम्म सटही गर्न सक्ने सुविधा दिएको छ । प्रतिग्राहक ३ सय अमेरिकी डलरसम्म होटलमै साट्न पाइने भएको छ । यसअघि होटलले सेवा दिएबापतको रकम मात्रै लिन पाउने सुविधा परिमार्जन गर्दै नेपाल राष्ट्रबैँकल होटलमै डलर साट्न पाउने व्यवस्था गरेको हो । यसअघि अनौपचारिक रूपमा होटलहरूले विदेशी मुद्रा पनि सटही गर्दै आएका थिए ।

अब भने औपचारिक रूपमै साट्न पाउने भएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको थियो । सोही व्यवस्थाअन्तर्गत राष्ट्र बैंकको विदेशी विनिमय विभागले तीन दिनअघि परिपत्र गरी कार्यान्वयनका लागि निर्देशन दिएको छ । करिब ७ महिनाअघि राष्ट्र बैंकले होटलहरूलाई विदेशी मुद्रा सटही अधिकार नभएको भन्दै नसाट्न निर्देशन दिएको थियो ।

होटलहरूले ग्राहकलाई दिएको सुविधा बराबरको रकम लिने सुविधा भए पनि विदेशी मुद्रा सटही गर्न नपाउने भन्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । उक्त कारणले व्यवसाय सञ्चालन गर्न अप्ठयारो भएको भन्दै होटल व्यवसायीहरू सटही सुविधा माग गर्दै राष्ट्र बैंक पुगेका थिए । व्यवसायीहरूको आग्रहका आधारमा राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि प्रतिग्राहक ३ सय अमेरिकी डलरसम्म सटही गर्न सक्ने सुविधा दिएको हो । यसैगरी १० हजार अमेरिकी डलर (करिब १० लाख रुपैयाँ) मूल्यसम्मका हवाईजहाज, दूरसञ्चारका पार्टपुर्जा तथा मेडिकल इक्विपमेन्टका पार्टपुर्जा सीधै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने भएको छ ।

हवाईजहाज, दूरसञ्चारका पार्टपुर्जा तथा मेडिकल इक्विपमेन्टका पार्टपुर्जा आधिकारिक एजेन्टमार्फत तत्कालै विदेशबाट मगाउनुपरेमा अमेरिकी डलर १० हजारसम्मका सामानहरू बिक्रेताले उधारोमा पठाइदिएमा त्यस्ता सामान नियमअनुसार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिनेछ । नेपालमा कार्यरत विदेशी नागरिकले आफूले पारिश्रमिकबापत कमाएको रकम विदेश लाने प्रक्रियालाई राष्ट्र बैंकले केही सरल बनाएको छ । नयाँ व्यवस्थाअनुसार त्यस्ता कर्मचारीहरूले पारिश्रमिक आफ्नो राष्ट्रमा पठाउन राष्ट्र बैंक धाइरहनुपर्ने छैन । सीधै आफ्नो खाता रहेको वाणिज्य बैंकमा गएर रकम पठाउन सक्नेछन् ।।



प्रतिक्रिया दिनुहोस्