Logo

चिनिया उपप्रधानमन्त्री याङ र माओवादी अध्यक्ष दाहालबिचको भेटमा के कुरा भयो ? प्रवक्ता भुसालले गरिन खुलासा



साउन ३२, काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेपाल–चिनबिचको सम्बन्ध अभफै सुमधुर भएको तर्क गरेकी छिन् । नेपाल भ्रमणमा रहेका चिनिया उपप्रधानमन्त्री वाङ याङले नेपाललाई सहयोगको घोषणासहित केही विषयमा महत्वपूर्ण सम्झौता गर्नुले दुई देशबिचको सम्बन्ध अझ मजबुत भएको तर्क भुसालको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै प्रवक्ता भुसालले भनिन्, “नेपालको आर्थिक विकासको मामलामा चिनको पनि सहयोग लिने हो । नेपालको आर्थिक विकासका लागि चिनको सहयोग आवश्यक छ । अरु मित्र राष्ट्रको पनि सहयोग लिनुपर्छ ।”
माओवादी केन्द्रले चिनसँगको आपसि सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएको प्रवक्ताको दाबी छ । रेल, रोड र ट्रान्समिसन लगायतका क्षेत्रमा चिनको सहयोगको अपेक्षा माओवादीले गरेको भुसालले बताइन् । नेपालका अन्य क्षेत्रमा लगानी गर्न पनि चिन आउँदा राम्रै हुने विषयमा माओवादी भित्र छलफल भएको प्रवक्ता भुसालले जानकारी दिइन् ।
चिनिया उपप्रधानमन्त्री वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा नेपाललाई सहयोग गर्न र नेपालमा लगानी गर्न चिन सधैँ तयार रहेको स्पष्ट पारेको भुसालले बताइन् । चिन भ्रमणका बेला गरेको वान बेल्ट वान रोड (ओबिओआर) सम्झौताको कार्यान्वयन गर्ने प्रक्रियामा अगाडि बढ्ने विषयमा चिन तत्पर रहेको जानकारी वाङले दिएको भुसालको दाबी छ ।
याङसँगको भेटमा नेपालको राजनीतिक विषयमा धेरै छलफल नभएको दाबी भुसालको छ । संविधान संशोधनको विषयमा उपप्रधानमन्त्री याङले कुनै चासो नराखेको जिकिर भुसालको छ । चुनावको विषयमा पनि अध्यक्ष दाहालसँगको भेटमा कुनै कुरा नभएको भुसालले जानकारी दिइन् ।
भारत–चिनबिचको दोक्लम विवादमा नेपालले लिएको नीतिलाई नै माओवादी केन्द्रले पनि अंगिकार गर्ने भुसालको दाबी छ । माओवादी केन्द्रले चिन वा भारत कसैको पनि समर्थन नगरी तटस्थ बस्ने भुसालले बताइन् । तर यस विषयमा पनि याङसँगको भेटमा कुनै कुरा नभएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्