Logo

बाढीले कृषि क्षेत्रमा अत्याधिक क्षति, यस्तो छ क्षतिको विवरण



साउन ३२, काठमाण्डौ । अविरल रुपमा परेको बर्षाका कारण आएको बाढीले कृषि क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । धानवाली डुवानमा पर्नुका साथै तरकारीवाली र माछा पूर्ण रुपमा नष्ट भएको छ । बाढीका कारण तराई मधेसको धान रोपाइँ सम्पन्न नहुँदै २० जिल्लाको ८० प्रतिशत क्षेत्रफल डुबानमा परेको छ ।
झण्डै एक हप्तासम्म परेको अविरल वर्षाले तराई क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । अन्न भण्डार भनेर चिनिने तराईमा बाढी आएपछि त्यस क्षेत्रको कृषि उत्पादन प्रभावित भएको छ । बाढीका कारण तराई मधेसको धान रोपाइँ सम्पन्न नहुँदै २० जिल्लाको ८० प्रतिशत क्षेत्रफल डुबानमा परेको छ । रोपाइँ भएको बाँकी २० प्रतिशत क्षेत्रफल पनि थप डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ ।

डुबानमा परेका क्षेत्रमा धानबाली, तरकारी, फलफूल र माछातर्फ ठूलो क्षति भएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा सबैभन्दा बढी क्षति पुगको छ । ति जिल्लामा १४ करोडको तरकारी र भण्डारण गरेर राखिएको १२ करोड रुपैयाँ बराबरको खाद्यान्न नष्ट भएको छ ।

माछापालन गरिएको क्षेत्रमा बाढी पस्दा १३ अर्ब रुपैयाँ बराबरको माछा नष्ट भएको छ । प्रारम्भिक तथ्यांकअनुसार पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा बाढीले सबैभन्दा बढी क्षति र्पुयाएको छ । कृषि विकास मन्त्रालयका अनुसार अनुसार पर्सामा २० हजार हेक्टरको धानबाली डुबानमा परेको छ । २० हजार हेक्टरको तरकारी नष्ट भएको छ । बारामा ५५ हजार हेक्टरको धानबाली डुबानमा पर्नुका साथै १० हजार हेक्टरको तरकारी नष्ट भएको छ । त्यस्तै, धनुषामा २१ हजार हेक्टरको धानबाली डुबेको छ । सोही जिल्लामा एक हजार चार सय हेक्टरको तरकारी, एक सय ५० हेक्टरको मकैबाली, एक हजार सात सय हेक्टरको रहर दाल र दुई सय हेक्टरको मासको दाल नष्ट भएको छ । सर्लाहीमा दुई हजार सात सय हेक्टरको धानबाली डुबानमा परेको छ । पाँच सय हेक्टरको तरकारी, सात सय हेक्टरको मकै, तीन सय हेक्टरको बेसार, एक सय एक हेक्टरको तरुल नष्ट भएको छ ।

रौतहटमा २८ हजार पाँच सय हेक्टरको धानबाली डुबेको छ । यहाँ एक सय ६० हेक्टरको तरकारी नष्ट भएको छ । महोत्तरीमा २० हजार हेक्टरको धानबाली डुबानमा परेको छ । पाँच हजार हेक्टरको तरकारीबाली नष्ट भएको छ । रूपन्देही र नवलपरासीमा एक हजार पाँच सय हेक्टरको धानबाली डुबानमा परेको छ । चितवनमा पनि तीन हेक्टरमा लगाइएको केरा डुबानमा परेको छ । रसुवामा तीन सय ५० हेक्टरको धानबाली डुबानमा परेको छ । रामेछाप, ललितपुर, म्याग्दी, बझाङ, बैतडीलगायत क्षेत्रमा पनि धानबाली डुबानमा पर्नुका साथै मकै र तरकारीबाली नष्ट भएका छन् । पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहामा तीन करोड मूल्यबराबरको माछा नष्ट भएको छ । जिल्लागत रुपमा सबैभन्दा बढी महोत्तरीमा माछा वगेर नष्ट भएको छ । महोत्तरीमा एक हजार एक सय हेक्टरमा भएको माछा फार्महरुबाट बाढीमा बगेर ११ अर्ब मूल्यबराबरको माछा नष्ट भएको छ ।

पर्सामा एक करोड मूल्यबराबरको १० हेक्टरको माछा, बारामा ५० करोडको पाँच सय हेक्टरको माछा, धनुषामा ८० करोडको ८ सय हेक्टरको माछा, सर्लाहीमा ८० करोडको ८ सय हेक्टरको माछा, चितवनमा ६ करोडको ६० हेक्टरको माछा र रौतहटको १५ करोडको १५० हेक्टरमा उत्पादन भएको माछा बगेर नष्ट भएको छ। पशुसेवा विभागका महानिर्देशक डा विमल निर्मलका अनुसार तराई(मधेसमा बाढीका कारण दुई करोड मूल्यबराबरको पशुपन्छीतर्फ क्षति भएको छ ।

तरकारी आयात प्रभावित
बाढीपहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध हुँदा कालिमाटीमा सामान्य दिनभन्दा आइतबार झन्डै तीन सय ५० मेट्रिक टन कम परिमाणमा हरियो तरकारी आपूर्ति भएको छ । सामान्य दिनमा कालिमाटी बजारमा ६ सय मेट्रिक टन हरियो तरकारी भित्रिन्थ्यो भने आइतबार दुई सय ५० मेट्रिक टन मात्र भित्रियो ।
बाढी र पहिरोका कारण राजधानीलाई जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध हुँदा थोरै परिमाणमा तरकारी भित्रिएको हो ।

भारतबाट रक्सौल र बेलहिया नाका हुँदै भित्रिएको प्याज, आलु, कागतीलगायत तरकारी मुग्लिङ र हेटौंडा(पालुङ सडकखण्ड अवरुद्ध हुँदा कालिमाटीमा थोरै परिमाणमा तरकारी भित्रिएको हो । यस्तै, सडक अवरोधका कारण मकवानपुर, धादिङ, चितवन, काभ्रे, सर्लाही, दक्षिणी ललितपुरबाट पनि काठमाडौंमा तरकारी भित्रिन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्