Logo

निर्वाचन आयोगलाई इयू र युएनडिपीद्वारा अनुदान सहयोग



काठमाडौँ, ३२ साउन । निर्वाचनलाई सघाउन युरोपेली संघ (इयू) र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले निर्वाचन आयोगलाई थप १६ लाख युरो अनुदान सहायता उपलब्ध गराउने एक सम्झौतामा आज हस्ताक्षर गरेका छन् ।

युएनडिपी मातहतको इलेक्टोरल सपोर्ट प्रोजेक्टमार्फत निर्वाचन आयोगलाई उपलब्ध गराइने यो सहयोग निर्वाचन प्रयोजनमा उपयोग गरिनेछ ।

नेपालका लागि इयूका राजदूत रेन्जी टिन्रिक र युएनडिपी नेपालका देशीय निर्देशक रेनौड मेयरले आज अर्थ मन्त्रालय र निर्वाचन अयोगका प्रतिनिधिहरुको उपस्थितिमा यससम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको इयूको नेपालस्थित कार्यालयले जनाएको छ ।

इयूले यो परियोजनाका लागि सन् २०१२ मा ८४ लाख युरो वित्तीय सहयोग प्रदान गरिसकेको छ ।

यो सहयोग नेपालको निर्वाचन आयोगलाई सघाउन खडा गरिएको २ करोड ७८ लाख अमेरिकी डलरको बास्केट फण्डकै एक हिस्सा हो ।

राजदूत टिन्रिकले भन्नुभयो, “आउँदा महिनाहरुमा नेपालमा चरणबद्ध रुपमा निर्वाचन हुन गइरहेको सन्दर्भमा थप सहयोग गर्न पाउँदा इयू खुशी छ । नेपालको लोकतान्त्रिक प्रक्रियामा निरन्तर प्राविधिक सहयोग दिन इयू तत्पर र प्रतिबद्ध छ ।”

नेपालमा निर्वाचन सम्पन्न गर्न इयूसँग साझेदारिता गर्न पाएकामा युएनडिपी खुशी रहेको बताउँदै निर्देशक मेयरले यो सहयोगले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गर्न निर्वाचन आयोगको क्षमता अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

इयूले सन् २००८ र २०१३ मा नेपालमा निर्वाचन पर्यवेक्षण टोली खटाएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्