Logo

महोत्तरीबाहेक अन्यत्र महामारी नफैलिएको स्वास्थ्य मन्त्रालयको दाबी



काठमाडौँ,  ३२ साउन । स्वास्थ्य सेवा विभागले बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइनसकेको भन्दै नआँत्तिन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागले पत्रकार सम्मेलन गरी महोत्तरीको भगाहर गाउँपालिकाको मुसहर बस्तीका ३७ घरपरिवारमा झापापखालाको देखिएको भएपनि अन्यत्र कुनै समस्या नदेखिएको बताएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले पानीको सतह घट्दै गएपछि मात्र सरुवा रोगको सङ्क्रमण बढ्ने खतरा हुने भन्दै त्यस्तो अवस्थालाई नियन्त्रण गर्न तयारी भइसकेको बताए ।

महामारीको खतरा हुन नदिन दुई नम्बर प्रदेश बाहेक अन्यत्र सबै स्थानीय तहमा डेढ देखी ५ लाख रुपैयाँसम्म औषधि खरिदका लागि रकम पठाइसकेको पनि उनले जानकारी दिए । बाढी प्रभावित जिल्लाहरुमा ५ वटा सेन्टर बनाएर उपचार समेत सुरु गरेको र केन्द्रबाट १५ जना चिकित्सक पठाएको पनि विभागले जनाएको छ ।

कार्यक्रममा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. भीम आर्चायले खानेपानी शुद्धीकरणका लागि २५ हजार क्लोरिन ट्यावलेट वितरण गरेको जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्