Logo

यसरी सफल भयो विद्युत् प्राधिकरण नाफा कमाउन



भदौ १, काठमाण्डौ । सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरण १५ वर्षपछि मुनाफामा गएको छ । प्राधिकरणको ३२ औँ वार्षिकोत्सव समारोहमा गत आर्थिक वर्ष ०७३–०७४ मा दुई अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन भएको जानकारी दिइएको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चिलिमेलाई सफलता पूर्वक चलाएका घिसिङ आएपछि सधै घाटामा जाने विद्युत् प्राधिकरण नाफामा गएको हो ।

विद्युत उत्पादन, प्रसारण र वितरणको एकाधिकारप्राप्त पूर्ण सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरण १५ वर्षपछि सञ्चालन मुनाफामा गएको छ । नयाँ नेतृत्वले नयाँ ढंगबाट विजुलीको ब्यवस्थापन र चुहावट नियन्त्रण गर्दै काम गरेपछि प्राधिकरण १५ वर्षपछि सञ्चालन नाफामा फर्किएको हो । तर, अझै पनि प्राधिकरण खुद घाटाबाट बाहिर निस्किन सकेको छैन । ०५९ देखि विद्युत प्राधिकरण निरन्तर घाटामा थियो । प्राधिकरणले गत आर्थिक वर्ष ०७३–७४मा दुई अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो । प्राधिकरण आर्थिक वर्ष ०७२–७३ मा तीन अर्ब ६ करोड ३९ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा थियो । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गत वर्षको वाषिर्कोत्सवमा प्राधिकरणलाई नाफामा लैजाने घोषणा गरेका थिए, त्यसपछि प्राधिकरणको व्यवस्थापकीय सुधारको प्रतिबद्धता सहित कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान आफ्नो व्यवस्थापकीय कुशलता देखाएका छन् । प्राधिकरणको खूद नोक्सानी पनि एक अर्बभन्दा कम भएको छ । आर्थिक वर्ष ०७२–७३ मा ८ अर्ब ८९ करोट खूद घाटामा रहेको प्राधिकरणको नाफा आर्थिक वर्ष ०७३–७४ मा उलेख्ख रुपमा घटेर ९७ करोड ८९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । विद्युत चुहावट नूनीकरण, आयातित विद्युतको औसत खरिद दरमा कमी, विद्युत महसुलमा समायोजन, प्रमुख शहरमा नियमित विद्युत आपूर्ति र आशिंकरुपमा भएको वित्तीय पुर्नसंरचना लगायतका संस्थागत सुधारले खुद नोक्सानी न्यून गर्न सकिएको घिसिङले बताए ।
प्राधिकरणले गत आर्थिक वर्षमा निजी जलविद्युत उत्पादक र भारतसँग ४५ अर्ब ५७ करोड २० लाख रुपैयाँको खरिद गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २६.२८ प्रतिशतले बृद्धि भएको हो । घिसिङले आगामी दिनमा सक्षम र सुदृढ प्राधिकरण निर्माणका लागि समग्र प्रयास केन्द्रित गर्ने बताएका छन् । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणले विद्युत उत्पादन, प्रसारण र वितरणको काम गर्ने, सरकार तथा निजी क्षेत्र समेतले परस्पर सहयोग, समन्वय र लगानी गरी अनुकूल वातावरण सिर्जना गर्न सकेमा ऊर्जा क्षेत्रको समग्र विकास हुने बताए ।

परम्परागत ठेक्का व्यवस्थापन, सेवा प्रवाह व्यवस्थापन सुधार गरी परिणाममूखी र जवाफदेही कार्यसञ्चालन व्यवस्थापनको अभ्यास गर्न ढिलाइ भइसकेको भन्दै मन्त्री शाहीले यसतर्फ प्राधिकरण क्रियाशील हुनुपर्नेमा जोड दिए ।
विद्युत् प्राधिकरण धेरै वर्षपछि गत आर्थिक वर्षमा नाफा गर्न सफल भएको छ । गतवर्ष प्राधिकरणले विद्युत् बिक्रीबाट ५० अर्ब रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष विजुली बिक्रीबाट ३५ अर्ब कमाएको थियो । एकवर्षको अवधीमा विजुली बिक्री हुने आम्दानी प्राधिकरणले १५ अर्ब रुपैयाँले बढाएको छ । प्राधिकरणले गतवर्ष विद्युत् खरिद र कर्मचारीको तलबमा ४५ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यस्तो खर्च ३६ अर्ब ८ करोड थियो । एक वर्ष अगाडि आम्दानीभन्दा १ अर्ब बढी खर्च गरेको प्राधिकरणले एकवर्षको अवधीमा आम्दानीसँग खर्च बढेपनि नाफामा गएको छ । प्राधिकरणको ग्राहक संख्या २९ लाख ७० हजारबाट बढेर ३२ लाख ६० हजार पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्