Logo

एमालेको निकासविहिन विरोधको नीतिले द्धन्द्धको सृजना गर्दैछ : सिपि मैनाली



भदौ ६, काठमाण्डौ । नेकपा मालेका महासचिव सिपि मैनालीले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा भएकाले भएकाले मतदान बहिष्कार गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महासचिव मैनालीले सरकारले प्रस्तुत गरेको संशोधन विधेयक गैर जिम्मेवार, अनुत्तरदायी र राष्ट्रिय हितप्रति असंवेदनशील भएकाले माले विपक्षमा उभिएको मैनालीले स्पष्ट पारे ।

मतदान वहिष्कार गर्नु र विक्षमा मतदान गर्नुको अर्थ एउटै हुने भएकाले बहिष्कार गरेको मैनालीले बताए । प्रमुख प्रतिपक्ष नेकपा एमालेले गरेको विरोध निकासविहिन भएकाले एमालेसँगै मिलेर विपक्षमा मतदान गर्नुभन्दा बहिष्कार गर्नु ठीक भएको समेत मैनालीले बताए ।
संविधान संशोधनले मधेशी जनताको हित पनि नगर्ने र राष्ट्रिय अखण्डता पनि कायम नगर्ने भएकाले संशोधन जरुरी नरहेको मैनालीको तर्क छ । “संविधान संशोधन प्रस्तावमा भएका गल्ति र कमजोरीको विरोध गर्दै आएका थियौँ । एमालेसँग गठबन्धन भएकाले विपक्षमा उभिएका होइनौँ । हामी एमालेसँगको गठबन्धनमा छैनौँ ।”

संविधान संशोधनको सवालमा नेकपा एमालेले गलत कुराको विरोध गरेको भन्दै मैनालीले सराहना गरे । यद्यपी एमालेको विरोध निकासविहिन भएको मैनालीको आरोप छ । उनले भने, “जातिय पहिचान नहुनाले र प्रदेश गठनसम्बन्धी स्पष्ट सिद्धान्त नहुनाले अहिले धेरै असमझदारी र असन्तुष्टी पैदा भएको छ ।”
एमालेको निकासविहिन विरोधले गर्दा देशमा अघोषित ढंगले ध्रुविकरण भएको मैनालीले आरोप लगाए । एमालेको नीतिले द्धन्द्धको सृजना गरेको भन्दै विदेशीको हितमा हुने गरी एमालेले निकासविहिन एजेण्डा बोकेको मैनालीको तर्क छ । “एमालेको विचार संकिर्णतावादी, उग्रवादी र अतिवादीको हितमा छ ।” मैनालीले भने ।



प्रतिक्रिया दिनुहोस्