Logo

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट तोकियो



म्याग्दी, ६ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र वडा नं ३ को मौवाफाँट तोकिएको छ । तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगले गाउँपालिकाको अस्थायी केन्द्र पाखापानी तोकेर निर्वाचन सम्पन्न गराएपनि निर्वाचित जनप्रतिनिधिको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट तोकिएको हो ।

सोमबार रघुगंगा गाउँपालिका–३ को घुमाउनेतालस्थित निर्माणाधीन कालीगण्डकी रिसोर्टमा बसेको गाउँपालिकाको दोस्रो गाउँ सभाको बैठकले गाउँपालिकाको बहुसंख्यक नागरिकलाई पायक पर्ने गरी स्थायी केन्द्र मौवाफाँट तोक्ने निर्णय गरेको हो ।

गाउँसभाका ४३ जनामध्ये ४२ जनाको सहभागिता रहेको सो बैठकमा मौवाफाँटको पक्षमा २६ जना र पाखापानीको पक्षमा चारजनाले हस्ताक्षर गरेका थिए । गाउँपालिकाको केन्द्र कायम गर्न सामान्य बहुमत संख्या २३ जना पु¥याउनुपर्ने भएपनि मौवाफाँटको पक्षमा २६ जनाले हस्ताक्षर गरेपछि स्थायी केन्द्र कायम भएको हो ।

अब सोमबारको निर्णय कार्यान्वयन सम्बन्धमा सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको गाउँपालिकाका कार्यकारी अधिकृत राजु नेपालले बताउनुभयो ।

सो बैठकमा वडा नं ५ झीँ र वडा नं ६ पाखापानीका ११ जना जनप्रतिनिधिले सो निर्णयप्रति असहमति जाहेर गर्दै बहिष्कार गरेका थिए । मौवाफाँटको पक्षमा बेगखोला, भगवती, पिप्ले, दग्नाम र चिमखोलाका जनप्रतिनिधिले हस्ताक्षर गरेका हुन् भने कुइनेमंगलेका जनप्रतिनिधिले पाखापानीको पक्षमा हस्ताक्षर गरेपनि झीँ र पाखापानीले भने सो निर्णयप्रति असहमति जाहेर गरेका हुन् ।

दिनभर भएको छलफलपछि गाउँपालिकाका बहुसंख्यक नागरिकलाई पायक पर्ने गरी मौवाफाँटलाई स्थायी केन्द्र कायम गरिए पनि पाखापानीलाई सेवा केन्द्र कायम गर्दै सो क्षेत्रमा थप अर्को केन्द्रका लागि पनि पहल गरिरहने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि झीँ हुँदै पाखापानीसम्मका लागि सडक सञ्जालले जोड्नका लागि तत्काल आवश्यक प्रक्रिया शुरु गर्नेसमेत बताउनुभयो ।

“यो विषम परिस्थिति हो, भौगोलिकरुपमा विकटता रहेकाले सबै जनताले चाहेको ठाउँमा केन्द्र राख्न सक्ने अवस्था नरहेकाले अधिकतम जनतालाई सुविधा पुग्ने गरी केन्द्र कायम भएको छ, अबका दिनमा अपायक पर्ने क्षेत्रमा विकास निर्माणलाई प्राथमिकता दिएर विकासका कार्यलाई अगाडि बढाउनुपर्नेछ”, गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्