Logo

निर्वाचनलाई लिएर सरकारसँग निर्वाचन आयोगको ८ बुँदे सुझाव



काठमाडौं, ९ भदौं । निर्वाचन आयोगले असोज २ गते सोमबार हुने प्रदेश नं २ अन्तर्गतका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा र २०७४ मंसिर १० गते सम्पन्न हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी सम्बन्धमा नेपाल सरकारसँग ८ बुँदे अनुरोध गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले २ नम्बर प्रदेशको निर्वाचन सम्पन्न गराउन हालैको बाढीबाट बिगे्र भत्केका मतदानस्थल र मतदान केन्द्र, सडक, राजमार्ग, पुल, कल्भर्ट आदिको उचित मर्मत गरी व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

यसैगरी, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भए पनि निर्वाचन ऐन व्यवस्थापिका–संसद्बाट पारित नभएको अवस्थामा आयोगले शीघ्रातिशीघ्र ऐनहरु पारित गरी आयोगलाई उपलब्ध गराउन आग्रह गरेको छ । साथै आयोगले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि शीघ्र उपलब्ध गराउन सरकारसँग पुनः अनुरोध गरेको छ ।

बैठकले सरकारसँग अनुरोध गरेका ८ बुँदे अनुरोध यस प्रकार छन् ः

१ हालैको भीषण वर्षा र त्यसपछिको डुबान तथा बाढीका कारण प्रदेश नं २ अन्तर्गतका क्षेत्र नराम्ररी प्रभावित भएको पाइएकोले निर्वाचन आचारसंहिता उलंघन नहुनेगरी बाढी पीडितको उद्दार र राहातको प्रबन्ध गर्ने तथा बाढीबाट बिग्रे भत्केका मतदानस्थल÷केन्द्रको उचित मर्मत गरी व्यवस्थापन र बाढीबाट क्षतिग्रस्त स्थानीय सडक तथा राजमार्ग, पुल, कल्भड आदीको यथाशीघ्र मर्मत संभार गरी मतदातालाई सहज रुपमा घरबाट मतदानस्थल सम्म पुग्ने व्यवस्था मिलाउने ।
२ बाढी प्रभावित क्षेत्रमा निर्वाचन अधिकृतहरूको कार्यालय र मतदानकेन्द्रहरू स्थापना गर्न उपयुक्त कार्यालय भवनको अभावमा निर्वाचन व्यवस्थापन गर्न कठीनाई उत्पन्न हुने देखिएकोले ती जिल्लाका सरकारी भवनहरू, सामुदायिक विद्यालय एवं अन्य सरकारी स्वामित्वका भवनहरू यथाशीघ्र उपयोगमा ल्याउन सकिने गरी मर्मत संभार वा पुननिर्माण गर्ने ।
३ स्थानीय तह निर्वाचनलाई लक्षित गरी निर्वाचन विरोधी र भूमिगत समूहबाट हुन सक्ने घटनाहरुस निर्वाचनको क्रममा उम्मेदवार मनोनयनदेखि, निर्वाचन प्रचार–प्रसार, मतदान, मतगणना, मतपरिणाम घोषणा र बिजय जुलुस आदिको समयमा हुनसक्ने झडप एवं हिंसात्मक गतिविधीहरुस खुल्ला सीमाना र हात हतियारको प्रयोगस मतदाता शिक्षा कार्यक्रम संचालन र मतदानको लागि खटिने कर्मचारीको सुरक्षालगायतका विषयमा विशेष सजगता अपनाउँदै सुरक्षा व्यवस्थालाई चुस्त र भरपर्दो बनाउने ।
४ निर्वाचन अवधिभरका लागि निर्वाचन हुने स्थानमा पेट्रोलियम पदार्थ एवं ग्याँसको सहज व्यवस्थापनको लागि ती जिल्लामा रहेका आयल निगमका डिपोहरूमा पर्याप्त पेट्रोलियम पदार्थ स्टकमा राख्ने र अत्यावश्यक खाद्यान्न वस्तुहरूको अभाव हुन नदिन र कालो बजारी, महंगी नियन्त्रण गर्ने ।
५ निर्वाचन हुने स्थानमा निर्वाचन अवधिभर अविछिन्न विद्युत सेवा आपूर्ति, टेलिफोन तथा इन्टरनेटको सेवा प्रभावकारीरुपमा संचालन हुन सक्नेगरी आवश्यक व्यवस्था मिलाउने ।
६ मतदानको दिन मतदानकेन्द्रमा शौचालय र शुद्ध पिउनेपानी, प्राथमिक स्वास्थ्य सेवा र एम्बुलेन्स सेवा तम्तयार अवस्थामा राख्ने व्यवस्था मिलाउने ।
७ निर्वाचन हुने जिल्लामा उपलब्ध चारपाङ्ग्रे हलुका सवारी साधनहरु आफ्नो तालुक कार्यालयसँग समन्वय गरी मर्मत सम्भार गराई चालु हालतमा राख्ने व्यवस्था मिलाउने ।
८ नेपाल सरकारबाट मिति २०७४।०८।१० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने गरी मिति घोषणा भइसकेको परिप्रेक्ष्यमा यसको तयारीका लागि निर्वाचनसँग सम्बन्धित प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र प्रदेशसभा सदस्य निर्वाचन ऐन व्यवस्थापिका संसदबाट सिघ्रातिसिघ्र पारित गरी निर्वाचन आयोगलाई उपलब्ध गराउने र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि शीघ्र अयोगलाई उपलब्ध गराउने ।



प्रतिक्रिया दिनुहोस्