Logo

संविधान संसोधन सम्बन्धि प्रधानमन्त्रीको अभिब्यक्ति स्वभाविकः बाणिज्यमन्त्री विश्वकर्मा



काठमाडौ, १० भदौ । बाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसोधनको विषयमा दिएको अभिब्यक्ति स्वभाविक र आवश्यक रहेको दावी गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान सर्वस्विकार्य बनाउन र निर्वाचन सफल बनाउन खेलेको भूमिकालाई लिएर बधाई तथा शुभकामना दिएकोमा नेपालका प्रधानमन्त्रीले त्यस्को उपयूक्त रेस्पोन्स मात्रै गरेकोले त्यसलाई स्वभाविक रुपमा लिनु पर्ने बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा मन्त्री विश्वकर्माले भने,‘ भारतीय प्रधानमन्त्रीले गरेको चर्चाको नेपालका प्रधानमन्त्रीले जवाफ दिदै असन्तुष्टहरुलाई समेत सहमतिमा लिएर संविधानलाई सर्वस्विकार्य बनाउने प्रयास भएपनि त्यो अहिले सफल नभएको तर त्यसलाई भविष्यमा पुरा गरेर सर्वस्विकार्य बनाउँदै पूर्ण कार्यान्वयन गराउन प्रयास जारी रहन्छ भन्नु स्वभाविक हो । उहाँले मोदीजीको भनाईको जवाफ दिनु भएको हो, यो राष्ट्रघात होईन ।’

उनले नेपाल सक्रमणकालिन अवस्थाबाट गुज्रदै गरेको अवस्थामा मित्र राष्ट्रहरुबाट सुझाव आउनु स्वभाविक भएको तर त्यसलाई ग्रहण गर्ने सवालमा आ–आफ्नो दृष्टिकोण हुने भन्दै प्रधानमन्त्री देउवाको संविधान सम्बन्धी अभिब्यक्तिले संसदको निर्णयपछि पनि आदिबासी, जनजाति, मधेसी, मुस्लिम, दलितहरुमा आफूहरुको मुद्दा बाँकी नै छ भन्ने विश्वास जागेको तर्क गरे ।

मन्त्री विश्वकर्माले भने,‘ संसदबाट संविधान संसोधन विद्येयक असफल भएपछि असन्तुष्ट पक्षहरु निराश भएका थिए । प्रधानमन्त्रीको अभिब्यक्तिले प्रमुख दलहरु अझै आफूहरुको मुद्दाको पक्षमा रहेकोले उनीहरुलाई उत्साहित बनाएको छ ।’ उनले थपे,‘ देउवाजी बोल्दा पत्रकार ऋषि धमलापनि अगाडि नै हुनु हुन्थ्यो, उहाँको स्प्रिट बुझौ, त्यसलाई अतिरञ्जित नबनाऔ ।’

उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन छिमेकीसँगको चिसिएको सम्बन्ध सुधारको आधारमा बनेकोले प्रधानमन्त्री देउवाको भ्रमणले त्यसमा सकारात्मक काम गरेकोले भ्रमण अत्यन्तै फलदायी भएको दावी गर्दै भ्रमणको क्रममा नेपालको विकासको लागि दिर्घकालिन महत्वका सम्झौता भएको बताए ।

मन्त्री विश्वकर्माले भ्रमणको क्रममा तनहुँमा बीपी कोइराला स्वासप्रस्वास रोग उपचार केन्द्र, मेचीपुल निर्माण, सुदुरपश्चिममा प्राविधिक शिक्षालय स्थापना, बीरजंगबाट मात्रै आउने बल्क कार्गो काकडभिट्टा, जोगबनी र रुपेडियाबाट पनि ल्याउने सम्झौता, महाकालीमा ड्राईपोर्ट बनाउने, कृषिजन्य बस्तु निर्यातको समस्या समाधान गर्न क्वारेन्टाईन निर्माणको सम्झौता महत्वपूर्ण उपलब्धी भएको भन्दै बाढी र पहिरोले पु¥याएको क्षतिको पूर्ति र समस्याको दिर्घकालिन समाधानको लागि विज्ञहरुसहितको सचिवस्तरीय संयूक्त संयन्त्र १५ दिनभित्र निर्माण गर्ने सहमति ठूलो उपलब्धि भएको दावी गरे ।

उनले भ्रमणको क्रममा तेस्रो मुलुकबाट सामान आयात गर्दा अहिलेको नीति परिवर्तन गर्ने, चितवनसम्म ग्यासँ पाईलाईन विस्तार गर्ने, कोशी उच्चबाँध बनाउने लगायतका सहमति समेत भएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्