Logo

आफु मात्रै राष्ट्रवादी ठान्ने सोचले दलहरुबिचमा गालीगलौज मौलायो : लोकराज बराल



भदौ ११, काठमाण्डौ । कुटनीतिज्ञ प्रा. डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई सफल वा असफल भनेर टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् । भारतका लागि नेपाली पूर्वराजदूत समेत रहेका बरालले रेडियो कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै सद्भावना यात्रामा गएको प्रधानमन्त्रीले विश्वास आर्जन गर्न सके सफल मान्न सकिने बताएका छन् । दुई देशबिचमा विश्वासको संकट भएका बेला देउवाले भ्रमण गरेकाले लेनदेनभन्दा पनि विश्वासको वातावरण बनाउन सके सफल हुने बताए ।
प्रधानमन्त्री देउवाको भ्रमणले दुई देशबिचको विश्वास बढाउनमा मद्दत मिलेको बरालको तर्क छ । भ्रमणका बेला देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च सम्मान दिएको तर्क गर्दै बरालले त्यसलाई सकरात्मक रुपमा लिनुपर्ने बताए ।
मोदी र देउवाबिचमा भएको गोप्य वार्ताले पनि सम्बन्ध सुमधुर बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने तर्क बरालको छ । भेटका क्रममा दुई देशबिचमा सुरक्षा चासोका विषयमा छलफल भएको हुन सक्ने बरालको अनुमान छ ।
नेपालमा चिनको प्रभाव हुने गरेको विषयमा पनि भारतीय प्रधानमन्त्रीले चासो राख्नु स्वभाविक भएको बलालले बताए ।
संविधान संशोधनको विषयमा देउवाले बोलेका कुरालाई विवादमा ल्याउन जरुरी नभएको बरालको तर्क छ । “जे भएको थियो, त्यही भन्नुभएको हो । नयाँ कुरा त भन्नुभएको छैन । अरुले गोप्य रुपमा भनेका थिए । देउवाले खुला रुपमा भन्नुभयो । यसले कुनै असर गर्दैन ।” बरालले भने ।
यस विषयमा एमालेले विरोध जनाउनु सामान्य विषय भएको बरालको भनाई छ । “एमाले प्रमुख प्रतिपक्ष दल भएकाले सानो कुरालाई पनि ठूलो बनाइदिन्छ । भोली कांग्रेस सरकार बाहिर बस्यो भने पनि एमालेले गरेको सबै काम नराम्रो भनिदेला ।” बरालले भने ।
दृष्टीकोण गहिरो हुन नसक्दा दलहरु एकअर्कालाई आरोप लगाउनमा मात्रै केन्द्रित भएको बरालको आरोप छ । आफु मात्रै राष्ट्रवादी ठान्ने सोचले ग्रस्त हुँदा गालीगलौज मौलाएको समेत बरालको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्