Logo

नेपाली कांग्रेसले गरायो ६९ नम्बरमा दल दर्ता, दुई राप्रपा पनि आजै भए दर्ता



भदौ ११, काठमाण्डौ । नेपाली कांग्रेसले मंसिर १० गते हुने संसद र संघको चुनावका लागि दल दर्ता गराएको छ । आइतबार निर्वाचन आयोगमा गएर दल दर्ता गराएको कांग्रेसको दर्ता नम्बर ६९ रहेको छ ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति विमलेन्द्र नीधिको नेतृत्वमा गएको टोलीले दल दर्ता गराएको हो । निधिसँगै महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव लगायतका नेताहरु दल दर्ताका लागि आयोग पुगेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग्गिएको पशुपति शमसेर राणा नेतृत्वको समूहले पनि राप्रपा प्रजातान्त्रिकको नाममा निर्वाचन आयोगमा औपचारिक रुपमा दल दर्ता गरेको छ । करिब २ दर्जन नेताहरुको समूह आइतबार बिहान निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन् ।

पशुपति शमसेर राणा अध्यक्ष रहेको पार्टीका ध्रुवबहादुर प्रधान र सुनील बहादुर थापा महामन्त्री छन् ।

यसैगरी कमल थापा नेतृत्वको राप्रपाले संघीय र प्रदेश संसदको निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

राप्रपा उपाध्यक्ष टंक ढकालको नेतृत्वमा आयोग पुगेको टोलीले दुवै तहका निर्वाचनमा भाग लिन दल दर्ता गराएको हो ।



प्रतिक्रिया दिनुहोस्