Logo

चुनाव र आन्दोलन एकसाथ लैजाने राजपाको रणनीति



भदौ १२, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावका लागि उम्मेदवारको आकांक्षी धेरै भएकाले समस्या भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता यादवले आकांक्षी धेरै भएकाले प्रक्रियागत हिसाबले उम्मेदवार छान्न लागिएको बताए । उच्चस्तरीय उम्मेदवार छनौट समिति नै गठन गरेको राजपाले भदौ १६ गतेसम्म समितिलाई प्रतिवेदन बुझाउने समयसिमा दिएको छ । त्यसपछि उम्मेदवार टुङ्गो लगाइने यादवले बताए । “धेरै साथीहरुले म पनि उम्मेदवार हुन पाए हुन्थ्यो भन्ने इच्छा राख्नुभएको छ । यो प्रजातान्त्रिक विशेषता हो । तर विवाद भने छैन ।” यादवले भने ।
राजपाको ध्यान निर्वाचनतिर मात्र नभै आन्दोलनतिर पनि छ । नेता यादव भन्छन्, “निर्वाचन र आन्दोलन सँगसँगै जान्छ ।” निर्वाचनलाई पनि आन्दोलनकै रुपमा अगाढि बढाउने तर्क यादवले गरे । चुनावलाई आन्दोलनकै रुपमा प्रयोग गर्ने रणनीति राजपाको रहेको छ ।

प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी पहिलो पार्टी बन्ने दाबी यादवको छ । “राजपा चुनावमा गइसकेपछि अरु कुनै पनि दलले पहिलो दल बन्ने सपना देख्दैनन् ।” यादवले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्