Logo

निर्वाचनका लागि आवश्यक कानून निर्माणकाने काम अन्तिम चरणः सञ्चारमन्त्री बस्नेत



काठमाडौँ, १३ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनका लागि आवश्यक कानून निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

मन्त्री बस्नेतले आज आफ्नै कार्यकक्षमा सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग कुरा गर्दै निर्धारित समयभित्रै निर्वाचन विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने तयारीमा सरकार जुटेको जानकारी गराउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिर १० गतेका लागि तोकिएको र निर्वाचन क्षेत्र निर्धारण आयोगमार्फत निर्वाचन क्षेत्रको सिमाना हेरफेर गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै उहाँले भन्नुभयो, “शान्ति सुरक्षा र अन्य तयारीमा सरकार तम्तयार छ ।”

जनतालाई सही र द्रुत गतिमा सूचना दिन मन्त्रालय टेलिफोन सेवाको गुणस्तर सुधार्न र मुलुकभर सूचनाका माध्यम प्रभावकारी रुपमा विस्तार कार्यमा जुटेको अवगत गराउँदै मन्त्री बस्नेतले तत्काल सम्बन्धित सबै निकायका प्रमुखको बैठक राखेर गुणस्तर सुधारिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सूचना प्रविधिको विकास र गुणस्तर सुधारले मुलुकका अन्य क्षेत्रको काम पनि प्रभावकारी हुने धारणा व्यक्त गर्दै उहाँले मन्त्रालय मातहतका निकायमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास दिलाउनुभयो ।

मन्त्री बस्नेतले मातहतका निकाय प्रभावकारी रुपमा परिचालन गर्न आफू स्वयं क्रियाशील भएको र बिदाको दिन तथा कार्यालय समयभन्दा थप समयमा पनि काम गर्न शुरु गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको भारतको राजकीय भ्रमणका सम्बन्धमा उहाँले भ्रमण फलदायी र उपलब्धिमूलक भएको बताउँदै भ्रमणले नेपालको सामाजिक आर्थिक विकासका लागि ऊर्जा, व्यापार, सम्पर्क सञ्जाल, पर्यटनजस्ता महत्वपूर्ण क्षेत्रहरुमा सहयोग अभिवृद्धि भएको जानकारी गराउनुभयो ।

भारतसँग विगतमा सहमतिमा पुगिएका ठूला आयोजनाको शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि सकारात्मक वातावरण बनेको बताउँदै मन्त्री बस्नेतले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, कोशी बाँध, महाकाली नदीमा पुल निर्माण, मेची पुल निर्माण, भूकम्पपछिको पुनःनिर्माणमा भारतबाट प्राप्त सहयोग कार्यान्वयनलगायत विषयमा उल्लेख्य उपलब्धि भएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म भारतको राजकीय भ्रमण गर्नुभएको थियो ।

फरक प्रसंगमा मन्त्री बस्नेतले हालैको बाढी पहिरोबाट पीडित जनतालाई राहत दिन सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै सरकार प्राकृतिक विपद्को प्रभावकारी व्यस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाई अघि बढ्ने तयारीमा रहेको विचार व्यक्त गर्नुभयो ।

सञ्चारकर्मीको जिज्ञासामा मन्त्री बस्नेतले स्व कृष्णप्रसाद भट्टराई आमसञ्चार राष्ट्रिय प्रतिष्ठान गठन प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको र यही महिनाभित्र कार्यान्वयनमा आउने विश्वास दिलाउनुभयो । प्रतिष्ठानको कार्यान्वयनले नेपालका सञ्चारमाध्यमको गुणस्तरीयता बढ्ने उहाँको भनाइ भयो ।

मन्त्री बस्नेतले मातहतका कार्यालयमा शुरु गर्नुभएको छड्के निरीक्षणका बारेमा सोधिएको प्रश्नमा उहाँले कर्मचारीले जनताका काममा ढिलासुस्ती, अल्छिपना, गैरजिम्मेवारीपना र समयमा कार्यालय नजाने गरेको भन्ने गुनासो सुनेपछि आफँै हेर्न पुगेको बताउनुभयो ।

निरीक्षणमा मातहतका कार्यालय पुग्दा जिम्मेवार कर्मचारी नै कार्यालय समयमा अनुपस्थित देखेको र आफ्नो कार्यले अन्य मन्त्रालयमा पनि सकारात्मक प्रभाव परेको भन्दै उहाँले यसलाई निरन्तरता दिने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्