Logo

बलराम जोशी पुरस्कार विपश्यना ध्यान केन्द्रलाई



काठमाडौँ, १६ भदौ । डा बलराम जोशी ज्ञान–विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानले रु ५० हजार १०१ राशिको बलराम जोशी ज्ञान–विज्ञान राष्ट्रिय पुरस्कार विपश्यना ध्यान साधना केन्द्रलाई प्रदान गरेको छ ।

त्यस्तै सुयोग्य शिक्षक पुरस्कार नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा पुरुषोत्तम भट्टराईलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार १०१ छ ।

प्रतिष्ठानअन्तर्गत स्थापित चन्द्रकुमारी–हिमालयराज जोशी स्वास्थ्य सेवा कोषका तर्फबाट अछामका विपन्न वर्गको स्वास्थ्य सेवामा समर्पित संस्था ‘पसिबल’ लाई रु २५ हजार १०१ सहित सम्मान तथा समाजसेवी विनोद शाहीलाई दीपकुमारी–पीताम्बरप्रसाद पन्त समाज सेवा सम्मान दिइयो । गत वर्ष स्थापित वरिष्ठ अधिवक्ता कृष्णप्रसाद पन्त पुरस्कार पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठलाई दिइयो । सो पुरस्कारको राशि पनि रु २५ हजार १०१ छ ।

सो अवसरमा पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधानमार्फत शान्ति, स्थिरता र विकासको जनताको आशा पूरा गर्न सबै राजनीतिक दल एक जुट हुनुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि सबै दल स्वार्थ छाडेर सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

“चारकोशे जंगल फाँडी चुरे दोहन गरेकाले तराईमा बाढीले सयौँको जीवन लिनुका साथै हजारौँलाई घरबारविहीन बनाएको छ, यसबाट प्राकृतिक नियमको पालना गर्नुपर्ने पाठ सिकाएको छ”, डा यादवले भन्नुभयो ।

वैज्ञानिक बलराम जोशी र उहाँकी धर्मपत्नी अंगुरबाबाले समाजसेवा, नारी शिक्षा, पर्यटन प्रवद्र्धन, आध्यात्मिक चिन्तनलगायत क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको उहाँले बताउनुभयो ।

सो अवसरमा अंगुरबाबा जोशीको नेपाली भाषामा लेखिएको आत्मकथा ‘अक्षर, साधना र गोधूली’ र अंग्रेजी भाषाको ‘दीक्षा’ पनि विमोचन गरिएको थियो । कार्यक्रममा पुरस्कृत प्रा भट्टराई, प्राज्ञ प्रा दिनेशराज पन्त, पुस्तक प्रकाशन संस्था उत्कृष्ट प्रकाशन प्रालिका अध्यक्ष हरिप्रसाद रिमाल, प्रा जयश्री अमात्य, प्रा निर्मला पोखरेललगायतले पुरस्कृत व्यक्तित्वले समाजमा पु¥याएको योगदानका विषयमा चर्चा गर्नुभयो ।

वैज्ञानिक बलराम जोशीले ‘अधिक विभव स्थिरविद्युत् उत्पादक’ नामक कृतिका लागि विसं २०१४ को मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँको विसं २०५० मंसिर २४ गते निधन भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्