Logo

ब्राण्डेड उद्योगमा पनि अनुगमन गर्ने आपूर्तिमन्त्री शिवकुमार मण्डलको चेतावनी



भदौ २०, काठमाण्डौ । अपूर्तिमन्त्री शिवकुमार मण्डलले चाडपर्वका बेला उपभोक्ता ठगिने परम्परा हटाउने दाबी गरेका छन् । शतप्रतिशत ठगि रोक्न नसके पनि मन्त्रालयले सम्भव भएसम्मको प्रयास गरेर अनुगमनको माध्यमबाट ठगि रोक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राज्यले अनुगमनलाई चाडपर्व लक्षित नगरी सधैँ निरन्तरता दिनुपर्ने बताए ।

सोमवार काठमाण्डौको दरबारमार्गमा आफैँ अनुगमनमा गएर अत्याधिक ठगि गर्ने ४ वटा पसललाई सिल गरेका मन्त्री मण्डलले कसैको दबाबका नपरी आफ्नो कामलाई निरन्तरता दिने बताए । कानुनी व्यवस्था अनुसार हदैसम्मको कारबाही गरेर ठगि नियन्त्रण गर्ने आश्वासन दिएका छन् । कालाबजारी ऐन अनुसार ठगी गर्नेलाई कारबाही गर्ने मण्डलले दाबी गरेका छन् ।
“गैरकानुनी रुपमा गरेका कामलाई कुनै पनि हालतमा छुट दिन सकिदैन । कुनै पनि व्यवसायीक संगठनको दबाबलाई कुनै पनि महत्व दिदैनौँ ।”
आपूर्ति विभागको अनुगमनप्रति कसैले आपत्ति जनाएर केही नहुने मन्त्री मण्डलले बताए । अहिले सांकेतिक रुपमा अनुगमन गरिएको बताउँदै मण्डलले दशैँ, तिहार र छठका बेला किनमेल बढ्ने भएकाले अनुगमन बढाइएको बताए ।

तर सबै ठाउँमा अनुगमन गर्न नसकिने बताउँदै अब ब्राण्डेड उद्योगमा पनि अनुगमन गरिने बताए । एउटा पसल, एउटा वस्तु वा एउटा ठाउँमा मात्रै अनुगमन गरेर नहुेन भन्दै अबका दिनमा सबै क्षेत्रमा अनुगमन गरिने बताए । विभागिय मन्त्रीको हैसियतले ठगि गर्नेलाई कारबाही गरेरै छाड्ने मन्त्री मण्डलले बताएका छन् । मन्त्री पद नै धरापमा पार्ने कसैको तागत छ भने पनि आफु पछि नहट्ने मण्डलले बताए ।

अब सबै जिल्लामा सिडियो कार्यालयको नेतृत्वमा अनुगमनलाई प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी मण्डलले दिए ।
नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा गोपाल खड्का दोषी ठहर हुनासाथ कारबाही गर्ने प्रतिवद्धता मन्त्री मण्डलले गरेका छन् । छानविन समितीहरुले दिएको प्रतिवेदन अनुसार मन्त्रालयले कदम चाल्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्