Logo

निर्वाचन आचारसंहिता कुनै हालतमा पनि फिर्ता हुँदैन् : प्रमुख निर्वाचन आयुक्त यादव



काठमाडौं, २० भदौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता कुनैपनि हालतमा फिर्ता नहुने बताएका छन् ।

मंगलबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले यस्तो बताएका हुन् । उनले ०५६ सालदेखि अहिलेसम्मको निर्वाचन आचार संहिताको लागुको कुरा उल्लेख गर्दै भने,‘आचारसंहिता हामीले सही समयमा लगाएका छौं, अब हामी यसबाट ब्याक हुँदैनौं।’ यादवले निर्वाचन आउन ८६ दिन बाँकी हुँदै आफूहरुले आचारसंहिता लागु गरेकोले यो समय सान्दर्भिक नै नभएको जिकिर गरे ।

उनले निर्वाचन आचारसंहिताको आलोचना गर्नु गलत भएको तर्क गर्दै जस्तोसुकै दबाब आएपनि अब उक्त निर्णयबाट आयोग एक ईन्चपनि ब्याक नहुने धारणा राखे ।

प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि भोलि हुने उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो । उम्मेदवारी दर्तार्का लागि विहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

प्रदेश २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते स्थानीय तहको चुनाव हुँदैछ । प्रदेश २ मा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै स्थानीय तहको वडा संख्या १ हजार २७१ छन् ।

प्रदेश २ मा २६ लाख ६४ हजार ९५० मतदाता छन् भने ३ हजार ५७९ मतदान केन्द्र तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्