Logo

ठूला दलका नेताहरुले तालमेलको गफ मात्र गर्ने तर चासो नदिने गरेको पाइयो : महेन्द्र राय यादव



प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि राष्ट्रिय जनता पार्टी कम्मर कसेर लागेको छ । यसअघिको २ चरणका स्थानीय तहको चुनावमा आन्दोलन गरेको राजपाका लागि तेस्रो चरणको चुनाव प्रतिष्ठाको लडाई पनि हो । राजपाले चुनावको तयारी कसरी गर्दैछ त । यही विषयमा ऋषि धमलाले राजपाका नेता महेन्द्र राय यादवसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईको पार्टीले स्थानीय तहको तेस्रो चरणको चुनावका लागि टिकट त बाँड्यो । तर रडाको मच्चियो नि ?
धेरै नेता कार्यकर्ता उम्मेदवारको आकांक्षी भएपछि केही असहज हुन्छ । गाउँ गाउँबाट र जिल्लाबाट यति नाम आयो कि, जुन हामीले अनुमान नै गरेका थिएनौँ । तर हामीले विधि र प्रक्रियाबाट उम्मेदवारको नाम फाइनल ग¥यौँ ।

वीरगंज महानगरपालिकामा राजेशमान सिंहलाई उम्मेदवार बनाएपछि त टिकट नपाएको भन्दै विमल श्रीवास्तवले पार्टी नै छोड्नुभयो किन ?
मधेशका पार्टीहरुमा टिकट पायो भने बस्ने पाएन भने अर्कोमा जाने प्रवृत्ति छ । अरु दलमा पनि यस्तो भइरहेको छ । मधेशका पार्टीमा हुन नौलो होइन ।

विमल श्रीवास्तवलाई किन टिकट नदिनुभएको ? राजेशमानलाई नै दिनुपर्ने कारण के छ ?
मधेश आन्दोलनमा राजेशमान सिंहले धेरै योगदान गरेको छ । जनताको लोकप्रिय र संघर्षशिल नेताको रुपमा सिंह चिनिएका छन् । इमानदार र कर्मठशील नेताको रुपमा राजेशमानलाई लिन सक्छाँै । उहाँलाई हामीले छानेको होइन, त्यहाँका जनताले छानेका हुन् ।

वीरगंज महानगरपालिकामा अब चुनौति बढ्यो नि चुनाव जित्नलाई ?
वीरगंज नाका बन्द गराउन सक्रिय नेता हुन राजेशमान । तर विमल श्रीवास्तवले आन्दोलनमा कहिल्यै पनि चेहेरा देखाउनुभएन । आन्दोलनका बेला विदेशमा गएर बस्नुभएको थियो । त्यसैले काम र योगदानको मूल्याङ्कन गरेका हौँ ।

राजपाका अरु केही नेताहरु पनि नेपाली कांग्रेस लगायतका दलमा प्रवेश गर्ने चर्चा छ । यसमा तपाईहरुको कमजोरी छैन ?
पार्टीभित्र असन्तुष्टी हुन्छ । तर मधेशको मुद्दामा लडेका नेताहरु अरु दलमा जानुहुँदैन ।

प्रदेश नम्बर २ को चुनावी तालमेलको अवस्था के छ ?
हामीले प्रयास गरिरहेका छौँ । स्थानीय स्तरमा धेरै ठाउँमा तालमेल गरिएको छ । केही स्थानमा कांग्रेस, माओवादी लगायतका दलहरुले इच्छा देखाएनन् । ठूला नेताहरुले गफ मात्र गर्ने तर तालमेलका लागि चासो नदिने गरेको पाइयो । कांग्रेस र एमाललेमा घमण्ड बढि देखिएको छ । हामीले कांग्रेस र माओवादीसँग तालमेल गर्न चाहेको हो । तर सोचेजस्तो भएन ।



प्रतिक्रिया दिनुहोस्