काठमाडौं, २१ भदौ । दक्षिण कोरिया र साउदी अरेबिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् ।
एसियाली क्षेत्रको छनोटअन्तर्गत मंगलबार राति भएका खेलमा विजयी हुँदै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका छन् ।
योसँगै एसियाबाट सिधै छनोट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए ।
एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ए को खेलमा मंगलबार राति उज्वेकिस्तानसँग गोलरहित बराबरी खेल्दै दक्षिण कोरिया विश्वकपका लागि छानिएको हो ।
समूह ‘बी’ मा रहेको साउदी अरेबियाले जापानलाई १–० ले हराएर विश्वकपमा स्थान पक्का गर्यो । साउदी अरेबियाको १० खेलबाट १९ अंक भएको छ ।
जापानको २० अंक छ । साउदी अरेबिया पाँचौं पटक विश्वकपका लागि छनोट भएको हो । एसियाली क्षेत्रका अन्य छनोट खेलमा ईरानले सिरियासँग २–२ गोलको बराबरी खेल्यो ।
अर्को खेलमा अस्ट्रेलियाले थाइल्याण्डलाई २–१ ले हरायो । अस्ट्रेलिया र सिरिया एसिया क्षेत्रको प्लेअफका लागि छानिएका छन् ।दुई लेगमा हुने उक्त खेलको विजेताले विश्वकप छनोटका लागि अर्को क्षेत्रको टोलीसँग अन्तिम प्ले अफ् खेल्नेछ ।
रुसमा अर्को वर्ष हुने विश्वकपका लागि अहिलेसम्म कुल ८ राष्ट्र छनोट भईसकेका छन् । यसमा साउदी अरेबिया, दक्षिण कोरिया, इरान, जापान, रुस, बेल्जियम, ब्राजिल र मेक्सिको रहेका छन् । एजेन्सीको सहयोगमा