Logo

विजय कुमार गच्छादारले मधेशको मुद्दालाई लत्याएको रामेश्वर राय यादवको आरोप



भदौ २२, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता रामेश्वर राय यादवले सैद्धान्तिक सहमति अनुसार नेपाली कांग्रेससँग चुनावी तालमेल भएको बताएका छन् । कति ठाउँमा तालमेल भयो भन्ने यकिन तथ्याङ्क जानकारी नभए पनि स्थानीय स्तरमा केही स्थानमा तालमेल भएको नेता यादवले बताए । यद्यपी कांग्रेससँग तालमेल गर्ने भनिएका कतिपय स्थानमा भने अन्तिम अवस्थामा आएर कुरा नमिलेको नेता यादवले बताएका छन् ।

तर अझै पनि तालमेलको सम्भावना बाँकी नै रहेको उनको भनाई छ । प्रदेश नम्बर २ मा नेकपा माओवादीले उत्साहजनक नतिजा हासिल गर्ने दाबी नेता यादवको छ ।
सर्लाही जिल्लामा सबैभन्दा धेरै स्थानमा नेकपा माओवादी केन्द्रले जित्ने दाबी यादवको छ ।
विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नेपालका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले केही दिन अघि मात्र राजिनामा दिएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र मधेशका मुद्दा सम्बोधन गर्न प्रतिवद्ध रहेको बताउँदै नेता यादवले चुनावमा उत्साहजनक नतिजा ल्याउने जिकिर गरेका छन् ।
यादवले विजयकुमार गच्छादारको एजेण्डा बोकेर नहिँडेको बताउँदै आफ्नै मधेशवादी एजेण्डामा हिँडिरहेको बताए । विजयकुमार गच्छादारले नेपाली कांग्रेसको एजेण्डा बोकेको उनको आरोप छ ।
मधेश, जनजाती र पिछडिएका वर्गको मुद्दा सफल बनाउनका लागि माओवादी केन्द्रमा प्रवेश गरेको उनको दाबी छ । माओवादी केन्द्रमा निःस्वार्थ भएर लागेको यादवको दाबी छ ।

आफू कुनै लोभमा परेर माओवादीमा प्रवेश नगरेको दाबी गर्दै गच्छादारले मधेशको मुद्दालाई लत्याएकाले मन नपरेको यादवले बताए ।
“उहाँले मधेशबाट आएको मतको अवमूल्यन गरेर गैर मधेशीलाई मन्त्री, सासंद र राजदुत बनाउनुभयो । जहाँबाट जनमत लिइयो, त्यसको कदर नगरेर व्यापारिक दृष्टिकोणले राजनीति गर्नुभयो ।” यादवले भने ।



प्रतिक्रिया दिनुहोस्