Logo

मधेशको हितको लागि लड्ने नेता उपेन्द्र यादव हो : नेता डा. राय यादव



जनकपुर, २२ भदौ ।  संघीय समाजवादी फोरम नेपालका नेता डा. रामस्वार्थ राय यादवले मधेशको हितको लागि लड्ने नेता आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव नै भएको दाबी गरे ।

बिहीबार रिपोर्टर्स क्लब नेपाल–जनकपुर शाखाले जनकपुरको बार एशोसियसनको कार्यालयमा आयोजना गरेको ‘प्रदेश नम्बर २ को निर्वाचन : दलहरुको सहभागिता’ नामक विशेष अन्तरक्रियामा बोल्दै उनले थपे,‘त्यसैले मधेशको हकदार उपेन्द्र यादव हो, संघीयता कार्यान्वयनको लागि सबैभन्दा बढि लड्ने पार्टी नै हाम्रो पार्टी हो।’ उनले मधेशी जनताहरुले यस पटक आफ्नो पार्टीलाई विजयी बनाउने समेत उद्धघोष गरे ।

नेता रायले मधेशमा आफ्नो पार्टीको विकल्प नरहेको समेत जिकिर गरे । उनले थपे,‘त्यसैले हामीले एक्लै चुनाव लडेका छौं, जनताले अत्यधिक बहुमतले हामीलाई विजयी गराउनेछन्, मधेशको विकास र समृद्धिको लागि हामी पूर्ण प्रतिबद्ध छौं।’

त्यस्तै राजपा नेपालका केन्द्रिय सदस्य परमेश्वर साहले प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरे । उनले मधेशलाई अधिकार सम्पन्न र समृद्ध बनाउन ठूला दलहरुले नचाहेको आरोप लगाए ।

उनले विजय कुमार गच्छदारलाई अवसरवादी नेताको रुपमा चित्रण गरे । उनले थपे,‘गच्छदार मधेशको विरोधी नेता हो, उहाँले कहिल्यैपनि मधेशको हितको लागि काम गर्नुभएको छैन, अहिलेपनि उहाँले डबल स्ट्याण्ड देखाईरहनुभएको छ, यो कुरा सारा मधेशी जनताहरुलाई थाहा छ, उहाँ साँच्चिकै मधेश प्रेमी नेता हो भने सरकार छोडेर आउनुहोस्, अनिमात्रै हामी विश्वास गर्छौं, होईन भने यसरी जनता ढाँट्ने काम बन्द गर्नुहोस्।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका केन्द्रिय सभापति एवम् बरिष्ठ पत्रकार ऋषि धमलाले आउने चुनाव मुलुक र जनताको लागि अत्यन्तै महत्वपूर्ण भएको चित्रित गर्दै संविधान कार्यान्वयनको लागि पनि सम्पूर्ण जनताहरुले मतदानमा सहभागिता जनाउनुपर्ने बताए ।

धमलाले संघीयता, गणतन्त्र र संविधान कार्यान्वयनको लागि पनि निर्वाचन अनिवार्य भएको उल्लेख गर्दै २ नम्बर प्रदेशको निर्वाचनमा पनि अत्यधिक जनताले सहभागिता जनाउनुपर्नेमा जोड दिए । उनले थपे,‘मलाई विश्वास छ, जनताहरुको उल्लेखनीय सहभागिता हुनेछ, आफ्नो मत हाल्न जनता आँतुर भएको मैले देखेको छु।’

उनले आर्थिक समृद्धिको लागि पनि निर्वाचन महत्वपूर्ण आधार भएकोले मधेशका विभिन्न सडक सञ्जालहरुको वर्तमान अवस्था कुरुप रहेको उल्लेख गर्दै सडकहरुको स्तरोन्नतीको लागि पनि निर्वाचन कोशेढुँगा सावित हुने विश्वास दिलाए ।

धमलाले रिपोर्टर्स क्लब नेपालले निर्वाचन समयमै सम्पन्न गर्नको लागि आफ्नो ठाउँबाट विभिन्न जनदबाब कार्यक्रमहरु गर्दै आएको उल्लेख गर्दै यो पटकको निर्वाचनलाई भयरहित, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनको लागि चुनावी अभियान लिएर आफू मधेश झरेको स्पष्ट पारे ।
उनले निर्वाचन आचारसंहिता समेत पालना गर्न अपिल गरे ।



प्रतिक्रिया दिनुहोस्