Logo

प्रदेश राजधानिका लागि दाङको विकल्प छैन : नेता पोख्रेल



शरद रेग्मी ,रेडियो: दाङ, भदौ २५ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले प्रदेश नं. ५ को प्रदेश राजधानी दाङ बन्ने ठोकुवा गरेका छन् ।

आइतवार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहेका पोख्रेलले प्रदेश नं. ५ मा राजधानिको लागि दाङको विकल्प नरहेको बताए । उनले एमालेका विरुद्धमा अनेक हल्लाहरु फैलाएर एमाले दाङ भन्दा बुटवल राजधानी बनाउन चाहान्छ भन्नु सरासर गलत हुने बताए ।

सबैको साझा प्रयासवाट मात्रै राजधानीको अस्थायी मुकाम तोक्न सजिलो हुने उनेको धारणा थियो । भूगोल, सुरक्षा लगायत सबै दृष्टिकोणले दाङ प्रदेश राजधानीका लागि उपयुक्त स्थान भएपनि अन्य सहरहरु बुटवल र नेपालगञ्जको विकास पनि समान स्तरले गरिने उनले बताए ।

नेपालगञ्जलाई औद्योगिक सहर, बुटवललाई पर्यटकिय सहर र दाङलाई प्रशासनिक केन्द्रका रुपमा विकास गर्न एमाले प्रतिवद्ध रहेको उनको भनाई छ । उनले २ नं. प्रदेशको निर्वाचनमा पनि एमाले नै पहिलो शक्ति बन्ने ठोकुवा गरेका थिए ।

राजपाका महामन्त्री, माओवादी, उपेन्द्र यादव लगाएतका दलहरुवाट एमालेमा केन्द्रीय नेताहरु एमालेमा पार्टी प्रवेश गर्ने क्रम बढ्दै जानुले त्यही शंकेत गर्ने उनको दाबी थियो । उनले प्रदेश नं. २ को निर्वाचनलाई जनमत संङग्रह जस्तै हुने बताए ।

संविधान संशोधन विना निर्वाचन हुनै सक्दैन भन्ने पक्ष र संशोधन नगरी निर्वाचन गर्नुपर्छ भन्ने पक्ष बीचको जनमत संङग्रहका रुपमा असोज २ को निर्वाचनलाई लिनु उपयुक्त हुने उनको भनाई छ ।

प्रदेश र प्रतिनिधी सभाको निर्वाचन एकै चरणमा गराउँदा एमाले विजयी बन्ने त्रासले सरकारले मंसिरको निर्वाचन दुई चरणमा गराउन खोजेको उनको आरोप छ ।

पहिलो चरणमा पराजित भएपछि दोस्रो चरणमा गठवन्धन गर्ने उदेश्यका साथ दुई चरणमा निर्वाचन गराउन खोजिएको भएपनि अब एमाले संगै एक्लै भिड्न सक्ने हैसियत कुनै दलको नभएको जिकिर गरे ।

 



प्रतिक्रिया दिनुहोस्