Logo

पार्टी कार्यकर्ताबीच एकताको आवश्यकता छ : मन्त्री केसी



पोखरा, २५ भदौ । युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले मंसिरमा हुने संघीय र प्रादेशिक निर्वाचनमा पार्टी कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीको सिद्धान्त र विचारलाई आत्मसात् गर्दै एकता र सद्भावका साथ निर्वाचनमा जुट्नु वर्तमानको आवश्यकता भएको बताउनुभयो ।

“आन्तरिक विवादका कारण स्थानीय तहको निर्वाचनमा पार्टी इतिहासमै कमजोर हुनु सबैका लागि चिन्ताको विषय हो,” काँग्रेस नेतासमेत रहनुभएका केसीले भन्नुभयो, “निर्वाचनमा हाम्रोलाई होइन राम्रो मानिसलार्ई अगाडि बढाउनु पर्दछ ।”

निकट भविष्यमा नेपालमा हुने दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि मन्त्रालय तयारीमा जुटेको बताउँदै उहाँले प्राकृतिक रुपले नै सुन्दर नगरी पोखरामा पाँचदेखि सातवटा खेल सञ्चालन गरिने जानकारी दिनुभयो ।

मुलुकमा विभेद र अवसरबाट वञ्चित रहेको शक्ति युवा भएको बताउँदै उहाँले उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी युवालाई विदेशमा नभै स्वदेशमै रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले सरकारी नियुक्ति वा कुनै पनि कार्यकर्तालाई अवसर दिँदा संस्थागत निर्णयका आधारमा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्