Logo

हिमाल, तराई, पहाड, मधेशलाई एकतावद्ध बनाएर जोड्ने काम कांग्रेसले नै गर्न सक्छ : रमेश लेखक



प्रदेश नम्बर २ को चुनाव नजिकिदै गर्दा सबै दलको ध्यान त्यतै केन्द्रित भएको छ । सबैजसो दलका शीर्ष नेताहरु चुनावी प्रचारप्रसारका लागि मधेशमा छन् । मधेशको चुनावी माहौल र मधेशी जनताका समस्याका बारेमा नेता र दलहरु कति संवेदनशील छन् त ? यही विषयलाई केन्द्रविन्दु बनाएर ऋषि धमलाले नेपाली कांग्रेसका नेता रमेश लेखकसँग अन्तरवार्ता लिनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

मधेशको चुनावी माहोल कस्तो पाउनुभएको छ ?
म प्रदेश नम्बर २ को विभिन्न जिल्लाहरुमा घुमिरहेको छु । मैले यस क्षेत्रका मतदाता, नेता, कार्यकर्ता, वुद्धिजीवी लगायतका सबैसँग कुरा गरेँ । चुनावलाई लिएर यस क्षेत्रका सबै मतदाता निकै उत्साहित रहेछन् । शान्तीपूर्ण र निष्पक्ष चुनाव हुने वातावरण बनेको छ । अर्को महत्वपूर्ण कुरा यहाँको जनमत नेपाली कांग्रेसको पक्षमा देखिएकाले नेपाली कांग्रेसले बढिभन्दा बढि ठाउँमा जित्ने देखिएको छ ।

नेपाली कांग्रेसभित्र यस क्षेत्रमा पनि आन्तरिक विवाद निकै देखिएको छ । यसले चुनावी नतिजामा असर गर्दैन ?
केही ठाउँमा त्यस्ता समस्या देखिएको छ । त्यसलाई पार्टीले समाधान गर्दैछ । अरु पार्टीमा पनि त्यस्तै समस्या नदेखिएको होइन । धेरै लामो समयपछि निर्वाचन हुँदा आकांक्षीहरु बढ्दा यो परिस्थिती सृजना भएको हो । यसलाई नेतृत्वले व्यवस्थापन गर्छ ।

कुनै पनि शीर्ष नेताहरुले विवाद समाधन गरेको पाइदैन । किन ?
त्यस्तो होइन । सबै शीर्ष नेताहरु २ नम्बर प्रदेशमा आएर आएर विवाद समाधानको प्रयास हुन्छ । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा नै ८ वटै जिल्लामा आएर समस्या सम्बोधन गर्नुहुन्छ ।

प्रधानमन्त्री चुनावी प्रचारमा हिँड्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुँदैन ?
प्रधानमन्त्रीले निर्वाचन आयोगसँग अनुमति लिएर मात्रै कार्यक्रममा सहभागि हुनुहुन्छ ।

नेपाली कांग्रेसका तर्फबाट मन्त्री भएकाहरुले नै आचारसंहिता उल्लङ्घन गरेका छन् नि ?
मन्त्रीहरुले आफ्नो हैसियत अनुसार कार्यसम्पादन गर्नुभएको हो । मन्त्रीहरु प्रदेश नम्बर २ मा आए भन्दैमा निर्वाचनकै लागि आएका हुन् भनेर बुझ्नु हुँदैन । सम्बन्धित मन्त्रालयका काम यहाँ पनि हुन्छ । यसलाई आचारसंहिता उल्लङ्घन गरेको मान्नु हुँदैन ।

यस क्षेत्रका जनता यतिबेला बाढीले पीडित छन् । यो समस्याका बारेमा दलहरु गम्भीर भएको पाइदैन । यसले चुनावमा असर गर्दैन ?
बाढीका कारण यस क्षेत्रमा दुखद स्थिती सृजना भएको छ । यसको दीर्घकालिन समस्या समाधानका लागि प्रधानमन्त्रीले कदम चाल्नुभएको छ । भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्री देउवाले दुई देशबिचमा बाढीबाट उत्पन्न हुने समस्या समाधानका विषयमा छलफल गर्नुभयो । समस्या समाधानका लागि दुर्व पक्षले सकारात्मक भूमिका खेल्ने भन्ने सहमति पनि भएको छ ।

बाढीको समस्या समाधानका लागि यस क्षेत्रका जनताले निकै चासो दिएका छन् । विकास निर्माणका विषयमा जनताको चाहना धेरै छ । यस कुरामा तपाईको पार्टीले कस्तो नीति लिन सक्छ ?
मधेशमा धेरै समस्याहरु छन् । यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, बाढी लगायतका विषयमा नेपाली कांग्रेस निकै संवेदनशील छ । विगतमा पनि यस क्षेत्रको विकासमा नेपाली कांग्रेसले धेरै भूमिका खेलेको छ । तराई मधेशको आर्थिक क्रान्तीको रुपमा हेरिएको हुलाकी राजमार्ग बनाउने कामलाई कांगेसले नै तिब्रता दिएको हो । ८ सय किलोमिटरको राजमार्ग बनाउने काम कांग्रेसले नै सुरु गरेको हो । अरु विकासका कामलाई पनि कांग्रेसले नै नेतृत्व लिन्छ । मधेशीको हक अधिकारका लागि नेपाली कांग्रेसले लडिरहेको छ । संविधान संशोधन गरेर मधेशीको माग पूरा गराउने कुरामा पनि कांग्रेस प्रतिवद्ध छ । हिमाल, तराई, पहाड, मधेशलाई एकतावद्ध बनाएर एकअर्काका जोड्ने काम कांग्रेसले नै गर्न सक्छ । नेकपा एमालेले मधेश र मधेशीका समस्या समाधान गर्न चाहदैन । एमालेले पहाड, हिमाल र तराईमा बस्ने जनतालाई जोडेर राष्ट्रियता बलियो पार्न चाहदैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पाचौँ पटक मन्त्रीमण्डल विस्तार गर्दै हुनुहुन्छ । राप्रपा प्रजातान्त्रिकलाई सरकारमा ल्याउनुपर्ने के कारण छ ?
सबैलाई समेट्नुपर्ने भएकाले मन्त्रीमण्डल ठूलो बन्न लागेको हो । नेपालको पद्धति नै यस्तै छ । मिश्रित निर्वाचन प्रणाली अपनाएका छौँ । यो प्रणालीमा कसैको पनि बहुमत आउन गाह्रो हुन्छ । संयुक्त सरकार बनाउनुपर्ने भएकाले मन्त्रीमण्डल ठूलो बन्नु स्वभाविक नै हो ।



प्रतिक्रिया दिनुहोस्