Logo

लहान नगरपालिकाका मेयरका उम्मेद्धवारहरु भन्छन् : आफूले वाचा गरेका प्रतिबद्धताहरु पूरा नभए ६ महिनाभित्रै राजिनामा दिन्छौं



एमाले मेयरका उम्मेद्धवार नआएको भन्दै नगरवासीहरुद्धारा आक्रोश व्यक्त

लहान, २७ भदौ । सिरहाको लहान नगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आफू विजयी भए लहानको विकासको काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार साँझ लहानमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मेयरका उम्मेद्धवारहरुले आफूहरुले बोलेका वाचाहरु पूरा नभए ६ महिनाभित्रै राजिनामा दिने समेत सार्वजनिक घोषणा गरेका हुन् ।

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका मेयरका उम्मेद्धवार अछमितलाल चौधरीले आफूहरुले प्रतिबद्धता व्यक्त गरेका कुराहरु पूरा नभए ६ महिनाभित्रै राजिनामा दिने घोषणा गरे । उनले आफू विजयी भए ढल, खानेपानी, सडक सञ्जालदेखि लिएर यहाँको समग्र विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताए ।

त्यस्तै उनले लहानको अव्यवस्थित् वस्तीहरुलाई व्यवस्थित् गर्नैपनि प्रतिबद्धता जनाए ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्धवार खड्गराज चौधरीले लहानको लागि विकासको लागि आफ्नो पार्टीले जति अरुले काम नगरेको आरोप लगाए । उनले भने,‘फेरि पनि यहाँको विकासको लागि हाम्रो पार्टीले नै काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’

संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेद्धवार वैजनाथ साहले लहानो चुनावी बहसमा आईदिएको भन्दै पत्रकार ऋषि धमलालाई धन्यवाद दिए । उनले भने,‘ऋषिजी जो यहाँ आउनुभएको छ, म निकै खुशी छु, उहाँले यहाँका सम्पूर्ण जनताहरुमा चुनावी रौनक र उत्साह थप्नुभएको छ, यसैगरि उहाँ यहाँ समय समयमा आईदिए धेरै राम्रो हुने थियो।’

उनले आफ्नो पार्टी जति मधेश र मधेशी जनताको लागि अरु पार्टीले काम नगरेको समेत गुनासो पोखे । उनले थपे,‘हामीले संविधान संशोधनको लागि यत्रो संघर्ष गर्यौं, हामीले त संशोधनमात्रै नभएर पूर्नर्लेखन नै गर्नुपर्छ भनेका छौं।’

त्यस्तै उनले लहानलाई समृद्ध नगरपालिकाको रुपमा विकास गर्न आफूले कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।

राजपाका मेयरका उम्मेद्धवार डा. महादेव साहले पनि लहानलाई समृद्ध नगर बनाउने र यहाँका नगरवासीहरुको मन जित्नेगरि काम गर्नै प्रतिबद्धता जनाए ।

त्यस्तै नेपाल लोकतान्त्रिक फोरमका मेयरका उम्मेद्धवार वीजय साहले पनि लहानमा रोकिएर अर्थात अवरुद्ध भएर रहेको विकासलाई आफूले गति दिने विश्वास दिलाए । उनले लहानलाई मुलुकै सबैभन्दा समृद्ध नगरपालिकाको रुपमा चिनाउने समेत बताए ।

राप्रपाका मेयरका उम्मेद्धवार एवम् पूर्व मेयर तथा पूर्वसांस्द लगन चौधरीले लहानमा अहिले प्रशस्त समस्याहरु रहेको भन्दै आफू विजयी भए सबै समस्याहरु समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै उनले आफू विजयी भए जनतासामू राखेका सबै वाचाहरु पूरा गरेर छाड्ने वचन दिए । उनले भने,‘मैले जितेभने यहाँ विकासका लहरहरु नै ल्याउनेछु, यहाँको जनता र समस्याहरुबारे मैलेजति अरु कसैलेपनि बुझेको छैन्।’ उनले क्लबको फोरममार्फत आफूले सम्पूर्ण नगरवासीसँग मत माँगेको समेत बताएका थिए ।

नेपाल मजदुर किसान पार्टीका मेयरका उम्मेद्धवार विजय महतोले आफूहरु संशोधन विरोधी नभएको भन्दै स्पष्ट पारेका थिए ।

उनले भने,‘तर हामीलाई संविधान विरोधीको रुपमा चित्रित गरियो, हामीले त अहिले संशोधन प्रस्ताव ल्याउनुको कारण के हो भनेर यसको कारण र औचित्य माँग गरेका थियौं, हामी संशोधन विरोधी हुँदै होईन्।’ उनले पनि लहानको विकासको लागि आफूले गर्ने काम तथा योजनाहरुको फेहरिस्त नै पेश गरेका थिए ।

कार्यक्रममा एमालेका मेयरका उम्मेद्धवार नआएकाले जनताहरु आक्रोशित थिए । उनीहरुले एमालेका मेयरका उम्मेद्धवार नआउनुमा केही गडबड रहेको भन्दै एकछिन नाराबाजी समेत गरेका थिए ।

कार्यक्रममा उपस्थित सयौंका संख्यामा उपस्थित् लहानवासीहरुले पत्रकार धमलाको कार्यक्रम नियमित हेर्ने भन्दै उच्च प्रशंसा समेत गरेका थिए । धमलालाई उनीहरुले चुनावी अभियान लिएर लहान आएजस्तै गरि लहानका समस्याहरुको बारेमा रेडियोमा बहस चलाउन समेत आग्रह गरे । धमलासँग सेल्फी खिच्नेको पनि उतिकै ठूलो भीड लागेको थियो ।



प्रतिक्रिया दिनुहोस्