Logo

शहरी विपद व्यवस्थापन योजनाको मूलप्रवाहीकरणमा जोड



काठमाडौं २७, भदौ । शहरी क्षेत्रका स्थानीय तहको योजना तर्जुमा एवं बजेट प्रक्रियामा शहरी विपद व्यवस्थापन योजनालाई मूलप्रवाहीकरण गर्नुपर्नेमा जनप्रतिनिधि तथा विज्ञहरुले जोड दिएका छन् ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र नेपाल (एनडिआरसी नेपाल ) ले आज यहाँ आयोजना गरेको गोष्ठीमा शहरी क्षेत्र पनि विभिन्न प्र्राकृतिक तथा मानव सिर्जित विपद्का कारण उच्च जोखिममा रहेकाले त्यसबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न स्थानयि तहबाटै विपद व्यवस्थापन योजना तर्जुमा र त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन विभागका विपद प्रतिकार्य समूहका प्रमुख धनपति सापकोटाले महानगरपालिकाले विपद व्यवस्थापनमा गरेका कार्यक्रमहरुका बारेमा प्रकाश पार्दै आगामी दिनमा विपद व्यवस्थापनलाई अझ मूलप्रवाहीकरण गर्ने बताउनुभयो ।

ललितपुर महानगरपालिका विपद व्यवस्थापन शाखाका प्रमुख हरिश्चन्द्र लामिछानेले पनि महानगरपालिकाको कार्यक्रम र योजनाहरुको सम्बन्धमा जानकारी गराउनुभयो ।

एनडिआरसी नेपालका कार्यकारी निर्देशक डा. ध्रुव गौतमले यस कार्यक्रमले महानगरपालिकाको शहरी विपद व्यवस्थापनलाई मूलप्रवाहीकरण गर्न सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

गोष्ठीमा लुथ्रन वल्ड रिलिफका परियोजना संयोजक गोविन्द रिमाल, वल्डभिजन इन्टरनेशनलका जगदीश भट्टराई, परियोजनाका संयोजक निर्मलमणि दाहालले समग्र परियोजनाको बारेमा प्रकाश पार्नुभएको थियो ।

एनडिआरसी नेपालले सुरक्षित शहर परियोजनाअन्र्तगत आयोजना गरेको सो गोष्ठीमा काठमाडौँ र महानगरपालिकाको वडा नं १० र १२ तथा ललितपुर महानगरपालिकाको २ र ९ वडाका जनप्रतिनिधि, विपद व्यवस्थापन समितिका सदस्यहरु, टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्