Logo

कांग्रेसको दम्भको घैंटो २ नम्बर प्रदेशको निर्वाचनमा फुट्दैछ, मुलुकबाटै बढारिनेछ : खनाल



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले २ नम्बर प्रदेशको निर्वाचनमा पनि आफ्नो दल पहिलो शक्ति बन्ने ठोकुवा गरेका छन् । नेता खनालले यो चुनावसँगै प्रमुख दल नेपाली कांग्रेस बढारिने समेत दाबी गरेका छन् । निर्वाचनको प्रचारप्रसारको लागि आफ्नो पार्टीका जिल्लाकै नेताहरु सक्षम र योग्य रहेकोले आफूहरु हतार गरेर नगएको उनको स्पष्टोक्ति थियो । यद्धपी उनले आफूहरु भोलि निर्वाचन आमसभाको समापन कार्यक्रममा सम्बोधन गर्न भोलि जाने जानकारी दिए । निर्वाचनमा एमालेको पोजिसन, तयारी, र अन्य समसामयिक विषयमा केन्द्रित रहेर नेता खनालसँग पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम “नेपाली बहसका” लागि गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश नम्बर २ मा चुनाव लागिसक्यो, तपाई त अहिलेसम्म पनि जानुभएन नि ?

भोलि मेरो कार्यक्रम बारा जिल्लामा विराट कार्यक्रम हुँदैछ । र, त्यहाँबाट म ८ वटै जिल्लाका मतदाताहरुलाई आह्वान गर्दैछु कि एमालेका पक्षमा उभिनको लागि, सुर्य चिन्हमा मत हाल्नको लागि । न्याय, प्रगति, समाजवाद र राष्ट्रियताको पक्षमा उभिनको लागि मेरो आह्वान हुँदैछ । त्यसैगरि नै अहिले हाम्रा पार्टीका नेताहरु ८ वटै जिल्लामा पुग्दैहुनुहुन्छ । उहाँहरु यही उद्देश्यका साथ दृढतापूर्वक लागिरहनुभएको छ । हामी सबै लागेका छौं । सिँगो नेकपा एमाले लागेको छ । यसमा केही फरक छैन् ।

तपाईले सिँगो पार्टी पँक्ती लागेको छ भनिरहँदा, अनि झलनाथ खनाल बारामा मात्रै जाने ?

हामी अनेकन जिल्लाहरुमा जाने आउने गरिरहेका छौं । धेरै नेताहरुमा एमालेमा अहिले म चाहीँ बारामा पुगेर अभियानलाई समापन गर्दैछु ।

तर अरु जिल्लामा तपाईलाई जनताले देख्न पाएनन् नि ?

सबै जिल्लामा म विभिन्न कालखण्डमा गैरहेको छु । आईरहेको छु। ऋषिजी तपाईलाई थाहा भएन । तपाईलाई यो बारेमा सुचना भएन होला । म यस्तै रेडियो, टेलिभिजनमार्फत प्रत्येक जिल्लामा पुगिरहेको छु । भोलि त म जाँदैछु ।

कांग्रेस र एमालेका शीर्ष नेताहरु त एक हप्तादेखि मधेशमै हुनुहुन्छ, तपाईहरु चाहीँ किन नजानुभएको हो ?

नेकपा एमालेमा पिढी पिढीका नेताहरु विकसित भैसक्नुभएको छ । सबै नेताहरु त्यहाँ गैरहनुपर्छ भन्ने केही छैन । कांग्रेसका साराका सारा नेताहरु ओईरिएका छन् । कांग्रेसको तर्फबाट प्रधानमन्त्री ओईरहेका छन्, कोही हेलिकप्टर लिएर दौडिएका छन् । ५४ सदस्यीय मन्त्रीमण्डल बनाएर दौडिएका छन् । आचारसंहिता तोडमरोड गरेर दौडिएका छन्, तर उनीहरुको केही लाग्नेवाला छैन । नेकपा एमालेका स्वयम् तराईभित्रका जो नेताहरु हुनुहुन्छ । उहाँहरु नै पर्याप्त हुनुहुन्छ । उहाँहरुले ती सबै प्रकारका मोहिमहरुलाई, षड्यन्त्रहरुलाई चिरेर नेकपा एमालेलाई विजयी बनाउनेहुनेछ ।

तर मधेशमा यतिवेला एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गरेर गम्भिर गल्ती गर्यो भन्नेहरुपनि त छन् नि ?

२ नम्बर प्रदेशका आम जनताहरु त्यस्ता भ्रमका पक्षमा छैनन् । जसले दृष्टिकोण बिगारिरहेका छन्, त्यस्ता भ्रमका पक्षमा जनताहरुले विश्वास गर्नेछैनन् । भ्रमका पर्दाहरु च्यातचुत पारेर राष्ट्रियता, लोकतन्त्र, सामाजिक आर्थिक रुपान्तरण, समाजवाद, शान्ति र सुदृढ नेपालको पक्षमा भएका दुई नम्बर प्रदेशका जनता नेकपा एमालेका पक्षमा लहरका साथमा समुन्द्रको लहरजस्तै उठिरहेका छन् ।

२ नम्बरका जनताहरुले आफूहरु अधिकारबाट बञ्चित भएको गुनासो गरेका छन्, नागरिकता नभएर मतदानबाट बञ्चित भएको भन्नेहरुको संख्या ठूलो छ नि ?

नेकपा एमालेले विजय प्राप्त गरेपछि संविधान बमोजिम त्यहाँका सम्पूर्ण जनताहरुलाई हामी नागरिकतापनि दिलाउँछौं । सम्पूर्ण पनि हकहितपनि दिलाउँछौं । विकास पनि गर्छौं । एमालेको नीति पनि उहाँहरुले देखिसक्नुभएको छ। बाढी डुबानको स्थितिको बारेमा पनि हामी भारत सरकारसँग कुरा गर्छौं । डुबानको ििस्थतिबाट तराईका जनताहरुलाई मुक्त गराउँछौं ।

उसो भए नेकपा एमाले मधेश विरोधी पार्टी होईन ?

विल्कुलै होईन । हामी तराईका जनताहरुको हृदयभित्र बसेका छौं । हाम्रो पार्टील त्यहाँका जनताहरुको मन जितेको छ । धनुषा, पर्सा, सिरहाजिल्लाभित्रै म भूमिगत हुँदा बसेको छु । त्यहाँका जनताहरुसँग हाम्रो पार्टीको नंग र मासुकोजस्तै सम्बन्ध छ । त्यसो भएको हुँदा नेकपा एमालेलाई त्यो क्षेत्रबाट विजयी हुनबाट कसैले रोक्न सक्दैन् ।

तर पछिल्लो समय सम्बन्ध चिसिएको छ नि ?

त्यहाँका जनताहरुसँग हाम्रो सम्बन्ध चिसिएको छैन । एकाध मान्छेहरु जसले तराईका ठेक्का लिएका छन् नि, हो तीनीहरुसँग चिसिएको होला । तर, जनताहरुसँग हाम्रो सम्बन्ध अहिलेपनि प्रगाढ नै छ । झन झन आत्मियता बढेको छ ।

एमालेले संशोधन प्रस्तावको विपक्षमा भोट गरेर महाभूल गर्यो भन्नेहरु पनि छ नि ?

त्यो भन्नेहरु तपाईले खोज्दामात्रै भेट्नुहुन्छ । तर त्यहाँ जाँदा भेट्नुहुन्न । आम जनताहरु त्यसो भन्नुहुन्न ।

२ नम्बर प्रदेशमा एमालेको पोजिसन कस्तो हुन्छ ?

हामी हरदिनको विकासको प्रक्रिया हेरिरहेका छौं । पर्सादेखि महोत्तरीसम्मका आम ग्रामिण क्षेत्रहरु, सहरी क्षेत्रहरु, सबै नगरपालिका र गाउँपालिकाहरुमा नेकपा एमाले एक नम्बर शक्ति छ । जनताले त्यही ढंगले भोट दिँदा तपाईले भोलि देख्नुहुन्छ । २ नम्बर प्रदेशमा पनि नेकपा एमाले पहिलो शक्ति बन्ने कुरा प्रमाणित हुन्छ ।

तर कांग्रेसका नेता विमलेन्द्र निधिले त एमाले २ नम्बर प्रदेशबाट बढारिदैछ भनेर भन्नुभएको छ नि ?

कांग्रेस जसरी विभिन्न ठाउँहरुबाट बडारिसक्यो नि, अब त्यसैगरि २ नम्बर प्रदेशबाट पनि बढारिँदैछ । त्यो चाहीँ उनीहरुले भन्नुपर्ने थियो नि । अब कांग्रेस मुलुकबाटै बढारिने सम्भावना छ ।

प्रसँग बदलौं, प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिने कार्यकाललाई यहाँले कसरी मुल्यांकन गर्नुभएको छ ? सफल कि असफल ?

उहाँ त ५४ सदस्यीय जम्बो मन्त्रिमण्डल बनाउने तपाई के संज्ञा दिनुहुन्छ ? यो संविधानलाई सबैभन्दा बढि उल्लंघन गर्ने प्रधानमन्त्री उहाँ हो । र, निर्वाचन आयोगले समेत भनिसकेको छ कि निर्वाचन आचारसंहिताको सबैभन्दा बढि उल्लंघन गर्ने प्रधानमन्त्री उहाँ हो । अहिलेको यो म्यादी सरकार अब एक महिना वा दुई महिनाको लागि मात्रै हो । यो निर्वाचनसम्मको लागि हो । त्यसपछि यो देशमा कांग्रेसको राज समाप्त भयो भनेर तराई मधेशका जनताहरुले र आम जनताहरुले बुझ्दैछन् ।

तर कांग्रेसले बहुमत ल्याएर फेरि सरकार बनायो भने त्यतिबेला के गर्नुहुन्छ ?

अब बहुमत ल्याएर सरकार बनाउने भाग्य त नेकपा एमालेको निधारमात्रै लेखिएको छ । त्यो भन्दा अरु कसैले गर्न सक्दैनन् ।

उसो भए कांग्रेस र माओवादीको निधारमा चाहीँ केही लेखिएको छैन ?

माओवादीको निधारमा के लेखिएको छ भनेर मैले भनिरहनु जरुरी छैन । जनताले ६ वटा प्रदेशमा जे परिणती देखाईसके अब त्यो २ नम्बर प्रदेशमा पनि दोहोरिँदैछ । अब यो कुरा प्रदेश र संसदको चुनावमा पनि दोहोरिन्छ । कांग्रेसको दम्भको घैंटो २ नम्बर प्रदेशको निर्वाचनमा फुट्दैछ ।

नेपाल आयल निगमको जग्गा खरिदको भ्रष्टाचारबारे तपाईहरु किन बोल्नुहुँदैन ?

आयल निगमको जग्गा खरिद काण्ड भन्नुहोस, राजश्वको काण्ड भन्नुहोस, यस्ता काण्डहरु जब जब कांग्रेस सरकारमा देखा पर्छ अनि घटित भएका छन्। यस्ता सबै काण्डहरुका विरुद्धमा चाहे संसदीय समितिमा भन्नुहोस, या संसदमा भन्नुहोस, चाहे सडकमा भन्नुहोस, चाहे चुनावी अभियानमा भन्नुहोस, सर्वत्र नेकपा एमालेले विरोध गर्दै आएको छ । अब नेकपा एमालेको सरकार बनेपछि हामी भ्रष्टाचारको विरुद्धमा राष्ट्रव्यापी अभियान नै चलाउनेछौं ।



प्रतिक्रिया दिनुहोस्