Logo

प्रहरीद्वारा दशैँ तिहार सुरक्षा योजना सार्वजनिक



भक्तपुर, २९ भदौ । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ, तिहारमा हुने चोरी, डकैती तथा आपराधिक घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले दशैँ, तिहार र छठ पर्वमा कुनै पनि आपराधिक घटना घट्न नदिन प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको बताउनुभयो ।

प्रहरीका वृत्त प्रभाग तथा इकाइबाट घरदैलो तथा सचेतनामूलक पर्चा वितरण तथा माइकिङ शुरु गरेको जानकारी दिँदै उहाँले सामुदायिक प्रहरीलाई घरदैलोमै पठाएर सुरक्षित हुनेबारे जानकारी गराउने बताउनुभयो ।

चाडपर्वलाई लक्षित गरी आपराधिक क्रियाकलापमा संलग्न रहेका, पटके तथा शंकास्पद व्यक्तिलाई पनि प्रहरीले उच्च निगरानीमा राख्ने भएको छ ।

प्रहरीले बैंक, वित्तिय संस्था, सुनचाँदी पसललगायत आर्थिक कारोबार हुने स्थानमा सम्बन्धित प्रहरी इकाइबाट सादा पोशाकमा व्यापक प्रहरी परिचालन गर्नेछ ।

भक्तपुरका ग्रामीण क्षेत्रमा मोबाइल तथा पैदल गस्ती परिचालन गरिने, मुख्य राजमार्ग तथा सहायक राजमार्गमा समय परिवर्तन गरी ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त चेकिङको व्यवस्था गर्ने भएको छ ।

होटेल, लज, रेस्टुराँ, पुल हाउसमा नियमितरुपमा चेकिङ बढाएको बताउँदै उहाँले कुनै पनि आपराधिक घटना घट्न नदिन रातको समयमा समेत क्षेत्र विभाजन गरी सादा पोशाकमा प्रहरी खटाइएको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले चाडपर्वका समयमा यात्रु ठगिनसक्ने भएकाले ट्राफिक र प्रहरीद्वारा संयुक्तरुपमा चेकिङ गर्ने व्यवस्था मिलाइएको बताइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले दशँैमा अपराधी सक्रिय हुनेसक्ने र चोरी डकैती बढ्न सक्ने भएकाले गाउँ, टोलका बासिन्दाले एकअर्का बिच समन्वय गरेर निगरानी गर्ने र शंकास्पद भएमा तत्कालै प्रहरीलाई खबर गर्नुपर्ने बताउनुभयो ।

शुरु भयो बजार अनुगमन

दशैँ नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले बजार अनुगमन शुरु गरेको छ ।

टोलीले दशैँअघिसम्म नियमितरुपमा बजार अनुगमन गर्ने भएको हो । टोलीले पहिलो दिन मध्यपुरको बाख्राबजार र गठ्ठाघरमा रहेको खाद्यान्न पसल तथा मिनी मार्टमा अनुगमन गरेको छ । अनुगमनका क्रममा चार वटा खाद्यान्न पसलबाट दुई बोरा म्याद गुज्रिएको अखाद्य वस्तु बरामद गरेको छ । जसमा रमेश थापा स्टोरबाट किरा परेको पाउरोटी, जौको पिठो भेटिएको छ ।

त्यस्तै थिमी ट्रेड सेन्टरबाट म्याद गुज्रिएको खाद्यान्न तथा मसला भेटिएको थियो भने अंकुर कल्पबवृक्ष स्टोरबाट म्याद गुज्रिएको ड्राइमिट, भटमासको तेल १६ लिटर तथा पिठो फेला पारेको थियो । टोलीले सबै अखाद्य सामग्री नियन्त्रणमा लिएको छ ।

बजार अनुगमनका क्रममा भक्तपुरका अधिकांश खाद्यान्न पसलमा मूल्यसूची नराखेको, नगरपालिकामा पसल दर्ता नगरी सञ्चालन गरेको, अखाद्य वस्तुसँगै राखेर खाद्यान्न बिक्री गरेको, सामान बिक्री गर्दा बिल नदिने गरेको अनुगमन टोलीले जनाएको छ ।

स्थानीय प्रशासनले जिल्लाका चारवटै नगरपालिकामा एक सातासम्म बजार अनुगमन गर्ने कार्यालयका शाखा अधिकृत रवीचन्द्र मिश्रले जानकारी दिनुभयो । अनुगमन टोलीमा जिप्रकाका कर्मचारी, प्रहरी, उपभोक्ता मञ्चका प्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्