Logo

संविधान संशोधन फेरि अघि बढ्छ : प्रचण्ड



सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशमा माओवादी केन्द्रको ठूलो लहर चलेको बताएका छन् । उनले आफू सरकारको नेतृत्वमा हुँदा मधेश र मधेशी जनताको हितको पक्षमा काम गरेकोले अहिले मधेशमा माओवादीप्रति ठूलो लहर चलेको स्पष्ट पारे । चुनावमा माओवादीको पोजिसन कस्तो छ ? मधेशको माँग सम्बोधन संविधान संशोधनबारे अबको धारणा के हो ? लगायतका विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले अध्यक्ष प्रचण्डसँग गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश नम्बर २ को निर्वाचनको माहोल हेर्दाखेरी माओवादी केन्द्रको अवस्था कस्तो छ ?

मधेशमा माओवादी केन्द्रको लहर चल्दैछ । माओवादी केन्द्रको स्थिति मजबुद छ भन्न चाहन्छु । मलाई लाग्छ जहाँसम्म मैले १० महिनामा मधेशी जनताको हितको निम्ति जुन काम गरें त्यो मेहनत मधेशवासी जनताले बुझ्नुभएको छ। मधेशका माग सम्बोधन गर्नको लागि जुन प्रयास ग¥र्यौँ त्यसको आधारमा माओवादी केन्द्रलाई मधेशमा रुचाईएको हो ।

मधेश आन्दोलनमा मरेका व्यक्तिहरुलाई शहिद घोषणा गर्न, राहत प्रदान गर्न, घाईतेको उपचार गर्न र पछिल्लो समयमा बाढी प्रभावितलाई जुन प्रकारको बास, गाँसको व्यबस्थापन गर्नुपर्ने हो त्यसमा पनि म स्वयम् लागिपरेको सबैलाई थाहा छ । प्रधानमन्त्री हुँदा र पछिको समयमा माओवादी केन्द्रले मधेशको लागि काम गरेको छ भन्ने यहाँका जनताले बुझेका छन् । यसैको उदाहरण आजभोलि माओवादीको पछाडी मधेशमा जनलहर देखिएको छ ।

संविधान संशोधन गर्न सक्नुभएन, संविधान संशोधन नभएको स्थितिमा कसरी मधेशका माग सम्बोधन भए भन्नुहुन्छ?

संविधान संशोधन विद्येयकलाई पारित गराउनको लागि प्रयास गरेको थिएँ । त्यो कुरा मधेशी जनताले बुझिसकेको कुरा हो । ४०१ जना सांसदको लिस्ट तयार पारेको सत्य हो । तर राप्रपाका सांसदहरुको उपस्थिति नभएकोले पारित हुन सकेन ।

केही सांसद हराएपछि पास भएन । आजको दिनमा संविधान संशोधन असफल भएपनि अर्कोपटक हामी अघि बढाउँछौँ । प्रदेश नम्बर २ मा माओवादी केन्द्रलाई बलियो बनाउनुपर्यो । फेरी भोटिङग हुन्छ । मधेशका जनताले सम्पूर्ण अधिकारहरु प्राप्त गर्छन् ।

उसो भए संविधान संशोधन प्रस्ताव चुनावपछि फेरी अघि बढाउनुहुन्छ ?

हो । हामीले मधेशका माग सम्बोधन गर्नको लागि आगामी दिनहरुमा निरन्तर प्रयास गर्नेछँौ। माओवादी केन्द्र र काँग्रेसको बलियो संख्या आएको खण्डमा कानुनलाई फेरबदल गर्ने जिम्मा हाम्रो हो । मधेशका जनताले माओवादी केन्द्रलाई विजयी गराउनुपर्यो ।

उसो भए संविधान संशोधन फेरी अघि बढाउनुहुन्छ ?

बढ्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेलामा बोल्नुभएको कुरा सही हो त ?

नेपालको आन्तरिक मामिलाको कुरा अरुलाई भन्नु कुनै हदमा राम्रो हुँदैन । कुनै प्रसँगमा बोलेका कुरा हो भने त्यसको त्यति आलोचना गर्नु उचित होईन। मैले प्रधानमन्त्रीसँग सोधेको थिएँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक–पटक सोधेका कारण मैले भनेको हुँ भन्नुभयो ।

सुरुमा तपाईले किन नबुझिकन बिरोध गर्नुभयो त ?

बिरोध भन्दा पनि टिप्पणी गरेको थिएँ । हाम्रो काम अरुलाई भन्नुहुँदैन । विद्येयक संसदमा प्रस्तुत गरेर छिनोफानो भैसकेको थियो । भन्ने हिसावमा मैले बोलेको हो । त्यही कुरा नबोलेपनि हुन्थ्यो भन्ने हो ।

एमाले पनि बिरोधमा उत्रियो नि ?

नेपालका जुनसुकै प्रधानमन्त्रीहरु भारत भ्रमणमा गएको बेला बिरोध हुन्छ। नकारात्मक कुरा गर्ने चलन छ । यो गलत हो ।

 



प्रतिक्रिया दिनुहोस्