Logo

स्थानीयदेखि संघीय चुनावमा कांग्रेसलाई मतदान नगरे २५ बर्ष पछाडि परिने : गिरि



सिरहा, ३० भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले नेपाली कांग्रेसलाई स्थानीयदेखि संघीय चुनावमा मतदान नगरे २५ बर्ष पछाडि परिने बताएका छन् । सिरहा नगरपालिकाको चुनावी सभामा नेता गिरिले यस्तो बताएका हुन् ।

ओली राष्ट्रवादलाई निरुत्साह गर्न र देशका सबै नागरिकको मन छुने अवधारणा लिएर काँग्रेस अगाडि बढेको प्रष्ट पार्दै उनले भने, ‘यस पल्ट काँग्रेसलाई मतदान गर्न हामी चुक्यौ भने पच्चिस वर्ष झुल्नुपर्छ त्यसैले काँग्रेसलाई बहुमतको सरकार बनाउने जनमत स्थानीयदेखि केन्द्रसम्म दिनुस देशको चौतर्फी विकास निश्चय छ ।’

नेता गिरिले नेकपा एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै भने “मधेश जलिरहेको थियो । त्यसबेलाका एमाले नेताहरुको अभिव्यक्ति संझनूस त ।”

उनले अधिकारवादी आन्दोलन चलिरहेको बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनकारीलाई लक्षित गर्दै भनेको कुरा उद्धरण गर्दै भने, ‘ए, समथर चाहिएको छ, बिहार गए हुन्छ । संविधान संशोधन चाहिएयो भने लखनउ गए हुन्छ रुखबाट दुई-चार आँप झर्दैमा केही फरक नपर्ने अभिव्यक्ति दिने पार्टीबाट देश र जनता कसरी सुरक्षित हुन सक्छन र ’ । उनले काँग्रेस उत्तेजक र मनस्थिति भड्काउने कुरा नगरेर सबैलाई मिलाएर अगाडि बढ्ने पार्टी भएको बताए ।

दसगजाको भुमीमा हिन्दुस्तान क्षेत्रबाट केही भयो भने मधेशी र उत्तरी सिमा चीनतिरबाट कुनै बितण्डा भयो भने हिमालीले खबरदारी गर्ने यथार्थ औल्याउदै भने, ‘देशका लागि रक्षाकवचको रुपमा रहेका मधेशीलाई दोश्रो दर्जाको नागरिक भन्नु र हिमाली भेगमा अर्को नारा दिनु उचित छैन् ।’ उनले दोधारे कुरा गरेर देशका जनताले शान्तिको साटो सास्ती मात्र पाउने बताए ।

नेता गिरिले काँग्रेस कसैसँग निहुँ नखोजि सबैलाई मिलाएर देश चलाउन अग्रसर रहेको बताउदै उनले भने, ‘आर्थिक र आधुनिक दृष्टिले अगाडि बढिरहेका चीन र भारतसँग निहुँ खोजेर देशलाई फाइदा छैन् । पाएको सहयोगलाई सदुपयोग गर्दै आफ्नो खुट्टामा उभिने प्रयास गर्नुपर्छ ।’ उनले कहिले भारत त कहिले मधेशीलाई गाली गर्दै आफुलाई राष्ट्रवादी प्रदर्शित गर्ने ओली प्रवृत्ति देशका लागि राम्रो नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्